फिल्म । केहि समय यता अभिनेत्री नीता ढुंगानाले म्युजिक भिडियो तथा टिभी शो निर्देशन गरिरहेकी छिन् । आफुले पाएको भूमिकालाई जीवन्त बनाउने अभिनेत्री नीताले केहि समय अगाडी नै फिल्म बनाउने घोषणा गरिसकेकी छिन् । ज्योतिषसँगै अभिनेता समेत रहेका हरिहर अधिकारीसँग नजिकिएपछि उनले फिल्म निर्माण सँगै निर्देशन गर्ने तयारी समेत थालेकी थिइन् । ‘ह्रस्व–दीर्घ’ शिर्षक राखेर फिल्म निर्माण तथा नीताले निर्देशन गर्ने चर्चा केहि दिन अगाडी भयो । निर्माणमा हरिहरसँग सहकार्य गर्ने र निर्देशनमा डेब्यु गर्ने तयारी नीताको थियो । यद्दपी उनले निर्देशनबाट आफुलाई अलग राख्ने निर्णय गरेकी छिन् ।
फिल्मसँग जोडिएको एक सदस्यले नीता निर्मात्री, अभिनयको जिम्मेवारीमा मात्र सिमित रहन चाहेको बताए । उनका अनुसार फिल्म निर्देशनको जिम्मा चन्द्र पन्तले पाएका छन् । नीताले चन्द्र पन्तको निर्देशनमा एउटा भोजपुरी फिल्ममा काम गरेकी थिइन् । यहि फिल्ममा काम गर्दाको विश्वासमा नीताले आफूले बनाउन लागेको फिल्म चन्द्रलाई निर्देशन गर्न दिएकी हुन् । यो फिल्मको छायाँकारको रुपमा सञ्जय लामा रहने छन् भने बाँकी कलाकार तथा प्राविधिकको छनौट हुन बाँकी रहेको छ ।
नीताको निर्मात्रीको रुपमा पहिलो फिल्म भएकाले उनले लगानीसँगै अभिनयमा मात्र केन्द्रीत हुने निर्णय लिएकी छिन् । यद्दपी उनको लक्ष्य भनेको निर्देशन भएता पनि अहिलेलाई त्यो थाती राखेकी छिन्,’ फिल्मसँग जोडिएका ती सदस्यले भने । यद्दपी नीता भने अहिले नै निर्णय नभइसकेको बताउँछिन् ।’
कुराकानीको क्रममा नीताले निर्देशनको निर्णय छलफल पश्चात लिने बताइन् । अहिले नै के गर्ने भन्ने निर्णय भएको छैन । निर्देशनको विषयमा छलफल भइरहेको छ । ‘ह्रस्व–दीर्घ’ पहिलो प्रोजेक्ट भएकाले अहिले यसको स्क्रिप्ट र संगीतमा काम भइरहेको छ’ नीताले भनिन् । उनले आउँदो भाद्रमा छायांकन गर्ने तयारीमा आफु सहित टिम रहेको समेत बताइन् ।










