देश । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गते मंगलवार देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ तीन कित्ता शेयरको अनुपात (१०ः३)मा प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ९३ लाख दुई हजार ५०० रुपैयाँ बराबरको आठ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयरकोे बिक्री खुल्ला गरेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत पुस २० गतेसम्म कारोबार भई कायम कम्पनीका शेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । जसका लागि कम्पनीले पुस २१ मा शेयरधनी दर्ता किताब बन्द अर्थात् बुक क्लोज गरेको थियो । जसअनुसार पुस २० सम्म कायम कम्पनीका शेयरधनीले हकप्रद शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
शेयरधनीले नक्सालमा रहेको ग्लोबल आइएमई क्यापिटलको कार्यालय तथा ग्लोबल आइएमई बैंकको लमजुङका विभिन्न शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सि–आस्वा प्रणालीमार्फत शेयर दरखास्त फाराम बुझाउन सक्नेछन् । त्यस्तै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हकप्रदमा बिक्रीखुला भएको २१ दिनसम्म अर्थात् आगामी फागुन २ गतेसम्म आवेदन दिन सकिने छ । हाल रु २९ करोड ७६ लाख ७५ हजार रहेको कम्पनीको चुक्ता पुँजी हकप्रद निष्काशन गरी बाँडफाँडपश्चात् रु ३८ करोड ६९ लाख ७७ हजार ५०० पुग्नेछ ।










