विदेश । गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना (कोभिड–१९) यतिबेला विश्वकै समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई ‘महामारी’ घोषणा गरिसकेको छ । यसैले गर्दा पनि यसको उच्च जोखिमलाई मुल्यांकन गर्दै सतर्कता बढाईएको छ । पछिल्लो समय कोरोना भाइरसको उद्गमस्थल मानिने चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान गएको छ ।
पछिल्लो समयले चीनले मृत्युदरमा कमि ल्याएता पनि यो अन्य स्थानमा फैलिदो छ । चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ । बिहीबार थप ४ सय २७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो ।
कुल संक्रमितको संख्या भने इटलीमा भन्दा अझै चीनमा बढी छ । चीनमा ८० हजार ९ सय ६७ र इटलीमा ४१ हजार ३५ व्यक्तिमा कोरोनाको लक्षण भेटिएको छ । तर, संक्रमण र मृत्युदर दुवै इटलीमा बढी छ । बिहीबार मात्रै इटलीमा ५ हजार ३ सय ३२ कोरोनाको नयाँ बिरामी भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोनाले हालसम्म १० हजार ४८ मानिसको ज्यान गएको छ ।









