फाइनलमा इंग्ल्यान्ड

खेलकुद । युरो २०२० को दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक अर्थात् फाइनलमा पुगेको छ । घरेलु मैदान वेम्बलीमा कठिन प्रतिस्पर्धाबाट ५५ वर्षपछि इंग्ल्याणन्ड मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो । सन् १९६६ मा विश्वकप उपाधि जितेयता इंग्ल्याण्ड उपाधिविहीन छ भने युरोमा त पहिलोपल्ट फाइनलमा पुग्न सकेको हो ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्यान्डले जित निकालेको हो । मिक्केल ड्याम्सगार्डले शानदार फ्रिकिकमार्फत ३० औं मिनेटमा डेनमार्कलाई अग्रता दिलाएका थिए । तर, ३९ औं मिनेटमा बुकायो साकाको प्रहार क्लियर गर्न लाग्दा डेनिस कप्तान सिमोक कजायरले आफ्नै पोष्टमा गोल गर्न पुगेपछि खेल बराबरीमा आयो ।

खेलको १०४ मिनेटमा ह्यारी केनले पेनाल्टी प्रहार गरेका थिए । उनको प्रहारलाई डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए । रिबाउन्डमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २-१ गोलले अघि बढाएका थिए । डेनमार्कका जोकिम मुहले इंग्ल्यान्डका रहिम स्टर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए। अब उपाधिका लागि इंग्ल्यान्डले आइतबार राति इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटालीले पहिलो सेमिफाइनलमा स्पेनलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो। (एजेन्सी)

कमेन्ट गर्नुहोस्