‘कर्कलो कोक्याउला’ ले प्रवाह गरेको संदेश

संगीत । वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको गीत ‘कर्कलो कोक्याउला’ पछिल्लो समय चर्चामा छ । गीतसँगै यसले भिडियो मार्फत प्रवाह गर्न खोजेको संदेशले यसलाई चर्चा दिएको हो । हरिवंशलाई स्वरमा गायिका समीक्षा अधिकारीले साथ दिएको १० मिनेट लामो गीतको भिडियोमा नेपाली चेलिबेटीलाई फकाएर, माया जालमा पारेर कसरी बेच्ने प्रयास गरिन्छ र कसरी उम्किन सफल हुन्छिन भन्ने कथा छ ।

यसै गीतलाई हेरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनचेतनामुलक सांगीतक प्रस्तुति रहेको प्रतिक्रिया दिएका छन् । उनले समाजिक सञ्जाल मार्फत ‘फरक प्रस्तुति , सार्थक संदेश’ रहेको उल्लेख गरेका छन् । ‘चेलिबेटी बेचबिखन विरुद्ध हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा जनचेतनामुलक सांगीतिक प्रस्तुति’ उनले लेखेका छन् । राजनीतिज्ञसँगै साहित्यकार समेत रहेका शर्माले संगीत विधामा गायन , लेखनमा समेत आफुलाई प्रस्तुत गरिसकेका छन् ।

सार्वजनिक गीत ‘कर्कलो कोक्याउला’ गीत हेरेर र सुनेर विदेश जान पाइला अगाडि बढाउँदा नेपाली महिलाले सोच्ने र सचेत हुनेमा हरिवंश विश्वस्त छन् । किरण तुलाधरले एरेन्ज गरेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ्ग गरेका छन् । भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । विदेशमा कसरि नेपाली चेलीलाई फकाएर लगेर बेचिन्छ भन्ने कथा भिडियोले बोलेको छ । भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नवीन लम्साल र घनश्याम पाण्डेको अभिनय रहेको छ । काभ्रे र दक्षिणकालीमा सुटिङ भएको भिडियोलाई सुशील सापकोटाले खिचेका छन् ।

कमेन्ट गर्नुहोस्