फिल्म । गत वर्ष मिरुना मगरका लागि सुखद भयो । वर्षकै पहिलो दिन रिलिज भएको ‘जारी’ ले उनलाई सफलतामा निरन्तरता दियो । ‘कबड्डी ४’ को सफलतापछि उनी सर्वाधिक खोजिने अभिनेत्री बनिन् । उनले आफ्नो पात्रमार्फत सामाजिक विषयलाई पर्दामा ल्याइन । अभिनेत्री बन्न सङ्घर्ष गरेर ‘लालपुर्जा’ मार्फत सुरुआत गरेकी मिरुनाको लागि विसं २०८० महत्वपूर्ण रह्यो ।
गत वर्ष उनले साहित्य र समाज बुझ्नलाई एक्टरले कति जरुरी छ भन्ने पाठ सिकेकी छिन् । उनी जिज्ञासु भएकी छिन् । पहिला कौतुहलतालाई आफूमै सिमित राख्ने मिरुना अब निर्धक्क प्रश्न गर्छिन् । किनकि उनीमा आत्मविश्वास बढेको छ ।
‘पहिला म आफूमै सिमित हुन्थे, खासै घुलमिल हुन् सक्दिन थिएँ । किनकि म नयाँ थिएँ, मेरो जिज्ञासाले अरुलाई असर गर्छ कि भन्ने लाग्थ्यो । तर, गत वर्ष मैले सिक्न पाएँ, धेरै मान्छे भेट्न पाएँ, कार्यशैलीलाई बुझ्न पाएँ । सोही कारण म जिज्ञासु भएँ’, अभिनेत्री मगरले भनिन्,‘त्यो सिकाइले मलाई पात्रसँग नजिक बनायो । यो वर्ष झनै त्यसलाई बढाउछु । म थप परिपक्क बन्ने कोसिशमा छु ।’
उनले ‘जारी’ को हाङमाको पात्रमार्फत समुदायर संस्कृतिले कत्तिको अर्थ राख्छ भन्ने बुझिन् । सतही नभई पात्रकै जीवन बाँचे मात्र पर्दामा जीवन्त देखिन्छ भन्ने बुझिन् । त्यसपछि उनको अभिनय फेरिएको छ । पात्रसँग उनले यात्रा गर्न थालेकी छिन् ।
‘मलाई रमकम होस् या सोसल ड्रामा अर्थहीन पात्रमा प्रस्तुत हुन् मन छैन । किनकि म देखिनको लागि मात्र नदेखिउ जस्तो लाग्छ । तर, मैले सोसल ड्रामा मात्र गरेर अन्य विधाको फिल्म गर्दिन भन्ने होइन । पर्खाइ छ’, अभिनेत्री मगरले भनिन् ।
‘जारी’ मार्फत अभिनयको कौशलतालाई बुझेकी अभिनेत्री मगरले सुरुआती दिनमा सायद आफूले खुलेर काम गर्न नसकेको बुझेकी छिन् । ‘सायद म धेरै जिज्ञासु भइन्, काम गरें । त्यहाँ मेरै मिस्टेक होला । तर, आउँदो समयमा झन् झनै परिपक्कता बढाउने प्रयत्न गरेकी छु’, उनले भनिन् ।
लिम्बू समुदायको संस्कार र संस्कृति देखिने फिल्ममा हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको पनि अभिनय छ । निर्देशक उपेन्द्र सुब्बाकैलेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्रध्वज कार्की हुन् ।
विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउन्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर रसुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्मका मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई हुन् ।