देश । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा विश्वासको मत पाएसंगै सरकार विस्तारको छलफलमा छन् । यद्दपी उनको पार्टी कार्यालय सानेपामा भने कांग्रेसी धर्नामा बसिरहेका छन् । पार्टी कार्यालयमा गृहजिल्ला धनुषा , बारा , सर्लाही लगायतका जिल्लाका नेता तथा कार्यकर्ताहरु आमरण अनशनमा छन् । कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यतामा मनोमानी भएको भन्दै पार्टी मुख्यालय सानेपाको मूलगेटमा नेता तथा कार्यकर्ताहरु धर्ना दिन बाध्य भएको जनाएका छन् । केहि दिन यता धनुषाका तीन नेता आमरण अनशनमा छन् । बाराका नेता कार्यकर्ता नौ दिनदेखि धर्नामा छन् । आइतबारदेखि सर्लाहीका पूर्वसांसद सहितका नेता कार्यकर्ताले धर्ना दिएका छन् ।
क्रियाशील सदस्यता छानबिन समितिले काम अन्तिम चरणमा पुर्याएका बेला असन्तुष्टिलाई लिएर धर्ना र अनशन बस्नेको संख्या बढ्दै गएको छ । उनीहरु सबैको माग साझा छ, ‘फर्जी क्रियाशील सदस्यता बदर होस् ।’ धनुषाका कांग्रेस नेता एवं पूर्वसांसद डा. चन्द्रमोहन यादव दुई दिनदेखि आमरण अनशनमा छन् । उनी पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा हुन् । उनीसहित महासमिति सदस्य रामपल्टन साह र तरुण दल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक पनि आमरण अनशनमा छन् । धनुषामा मापदण्ड विपरीत क्रियाशील सदस्यता वितरण गरिएको भन्दै त्यसलाई मान्यता नदिन माग गर्दै उनीहरु अनशन बसेका हुन् ।
बारा जिल्लाका नेता एवं पूर्वसांसद रामअयोध्या यादवसहित नेता कार्यकर्ता नौ दिनदेखि पार्टी कार्यालयको मूलढोकामा धर्नामा छन् । उनीहरुको ६ बुँदे मागमध्ये मुख्य माग फर्जी क्रियाशील सदस्यता खारेज हुनुपर्छ भन्ने छ । १३ औं महाधिवेशनमा विवाद भएपछि रोकिएका १६६ जना र सो बराबर थप गरिएका क्रियाशीलको नाम खारेज हुनुपर्ने र मापदण्ड विपरीत बाँडिएको क्रियाशील सदस्यता बदर हुनुपर्ने उनीहरुको माग छ ।
सर्लाहीको क्रियाशील सदस्यता विवादलाई लिएर पूर्वजिल्ला सभापति एवं पूर्वसांसद लक्ष्मण रायसहित नेताहरु ६ बुँदे मागसहित धर्नामा छन् । पूर्व पार्टी जिल्ला सभापति सत्यदेव सिंह दनुवार, जिल्ला सचिव नवीन अधिकारी, संविधान सभा सदस्य रामचन्द्र चौधरी, पूर्व जिल्ला उपसभापति विनोद खनाल, क्षेत्र नं. २ का क्षेत्रीय सभापति दिनेश मिश्र लगायत धर्नामा रहेका छन् । धर्नामा बसेका नेताहरुले नव प्रवेशीको नाममा गैर कांग्रेसीलाई क्रियाशील सदस्यता दिन नहुने, जिल्ला तहबाट नभई वडा स्तरबाटै सिफारिस भएर जानुपर्ने लगायतका माग राखेका छन् । यो समुहले केहि समय अगाडी सर्लाहीमा पत्रकार सम्मेलन गर्दै क्रियाशील वितरणमा मनोमानी भएको आरोप समेत लगाएका थिए ।












