नेदरल्यान्ड्सलाई हराउँदै चेक अन्तिम आठमा

खेलकुद । नेदरल्यान्ड्सलाई २-० गोलको नतिजामा पराजित गर्दै चेक रिपब्लिक युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ । आइतबार अन्तिम १६ अन्तर्गत हंगेरीको बुडापेस्टमा भएको खेलमा १० जना खेलाडीमा सीमित भएको नेदरल्यान्ड्सविरुद्ध सहज जित निकाल्दै चेक टोलीले ९ वर्षपछि क्‍वार्टरफाइनल यात्रा तय गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सका डि लिटले ५५ मिनेटमा रातो कार्ड पाएका थिए । सुरुमा पहेँलो कार्ड पाएका लिटलाई भिएआरमार्फत रेड कार्ड दिइएको थियो । चेकका प्याट्रिक शिकलाई डिबक्स नजिक रोक्ने क्रममा लिटले हातले बल फर्काएको भिडियो रिप्लेमा देखिएको थियो । नेदरल्यान्ड्स १० खेलाडीमा सीमित बनेपछि सहज अवस्थामा पुगेको चेकले ६८ मिनेटमा खेलमा अग्रता लियो।

बराकको फ्रिकिकमा कालसले हेडमार्फत मिलाइदिएको पासमा टोमश होल्सले गोल गर्दै चेकलाई अग्रता दिलाए। ८० मिनेटमा चेकले अग्रता दोब्बर पार्‍यो । उसका लागि प्याट्रिक शिकले दोस्रो गोल गरे । होल्सले दिएको उत्कृष्ट पासमा शिकले दोस्रो गोल गरेका हुन्।

सन् २०१४ को विश्वकपपछि पहिलो पटक ठूला प्रतियोगितामा स्थान बनाएको डच टोलीले समूह चरणका तीनै खेलमा जित हासिल गरेको थियो । चेक टोलीले क्‍वार्टरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्क शनिबार भएको प्रि-क्‍वार्टरफाइनलमा वेल्सलाई ४-० को नतिजामा पराजित गर्दै अन्तिम ८ मा पुगिसकेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्