देश । प्रशासक गणेशप्रसाद भट्टराईको स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट एक समारोहको आयोजना गरी स्वर्गीय भट्टराई स्मृति ग्रन्थ लोकार्पण गरिएको हो । कर्तन्व्य परायण राष्ट्रसेवक गणेशप्रसाद भट्टराईको संझनामा गठन गरिएको गणेशप्रसाद भट्टराई स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् आजीवन प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईले गर्नु भएको थियो ।
वरिष्ठ समालोचक प्रा.डा. कुमारप्रसाद कोइरालाले ग्रन्थका बारेमा समालोचनात्मक टिप्पणी गर्नु भएको थियो भने पोखरा विश्व विद्यालयका पूर्व उप–कुलपति प्रा. खगेन्द्रप्रसाद भट्टराई लगायतका वक्ताहरूले स्वर्गीय भट्टराईको बहुआयमिक व्यक्तित्व र उहाँसँगका सहकार्यका अनुभूतिहरूका बारेमा चर्चा गर्नु भएको थियो । बारा जिल्लाका तत्कालिन बहालवाला प्रजिअ गणेशप्रसाद भट्टराई र ससस्त्र प्रहरीका एसपि बलराम पोखरेल सवार जीप २०७५ साल माघ १२ गते अस्वभाविक तरिकाले दुर्घटनामा पर्दा एसपि पोखरेलको घटनास्थलमा नै र प्रजिअ भट्टराईको उपचारको क्रममा २०७५ फाल्गुण ६ गते निधन भएको थियो ।











