देश । लगातार घटिरहेको सेयर बजार मंगलवार बढेपछी लगानीकर्ता उत्साहित भएका थिए । मंगलवार ८० अंकको हाराहारीमा बजार बढ्दा सबै तर्फ हरियाली देखिएपछी उत्साहित भएका लगानीकर्ता बुधवार बजार घट्दा निराश भएका छन् । सेयर बजार बुधबार ५३ अंकले घट्दै नेप्से सूचक २८६० बिन्दुमा झरेको छ । एकदिन बजार बढ्दा नै यसरि घट्नुलाई विभिन्न कोणबाट विश्लेषण भइरहेको छ ।
बुधबार २ सय १८ कम्पनीको एक करोड ९४ लाख कित्ता सेयर ८ अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएका छन् । राधि विद्युत कम्पनी र ज्ञादी ग्रुप पावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढ्नु बाहेक अन्य कम्पनीको मूल्यमा उल्लेख्य वृद्धि हुन सकेन । कारोबारमा आएका २ सय १८ कम्पनीको मध्ये १५ वटा कम्पनीको मात्रै मूल्य बढ्दा बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।
सर्वाधिक सेयर मूल्य घट्नेमा कालिका पावर, नेपाल फाइनान्स, मञ्जुश्री फाइनान्स, नेपाल हाइड्रो डेभलपर र अरुण काबेली पावरको सेयर मूल्य ५/५ प्रतिशतले घटेको छ। सबै उपसमूह रातो भएको बजारमा जीवन बीमा समूह सर्वाधिक ३ सय ८७ अंक र निर्जीवन बीमा समूह २ सय ८० अंकले घटेको छ। त्यस्तै विकास बैंक, उत्पादन र लघुवित्त समूहको सूचक पनि १०० अंक भन्दा धेरैले घटेको छ।











