देश । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बुधबार मन्त्रीस्तरीय निर्णयबाट सूचना विभागका महानिर्देशकमा निहित अधिकार जिल्ला हुलाक कार्यालयलाई प्रत्यायोजन गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरणको काम अब जिल्ला हुलाक कार्यालयबाटै हुने बताएको छ । नेपाल पत्रकार महासंघले केही दिनअगाडि मन्त्री पार्वत गुरुङलाई भेटेर सामान्य कामका लागि जिल्ला–जिल्लाबाट पत्रकारहरू काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने माग गर्दै मन्त्रालय मातहत जिल्लाका हुलाक कार्यालयमार्फत प्रेससँग सम्बन्धित काम गराउने व्यवस्था मिलाउन सकिने सुझावसमेत दिएको थियो ।
यसलाई मध्यनजर गर्दै मन्त्री गुरुङले जिल्ला हुलाक कार्यालयबाटै नयाँ प्रेस पास लिन तथा नवीकरण गराउन सकिनेलगायतका व्यवस्था मिलाइएको बताए । समय र आर्थिक भारको झमेलाबाट सञ्चारकर्मीलाई सहजता मिल्ने गरी हुलाक कार्यालयलाई प्रेससँग सम्बन्धित काममा सक्रिय बनाइने बताए ।
अब प्रेस पास र अनलाइनसम्बन्धी प्रक्रिया पुगेकाको निवेदन संकलनको काम जिल्ला हुलाकले गर्नेछ । अहिलेलाई संकलित निवेदन हुलाकले विभागमा पठाउने र विभागले त्यसमाथि आवश्यक निर्णय गरेर पुन: जिल्लास्थित हुलाक कार्यालयलाई पठाउने तथा हुलाकले सम्बन्धित व्यक्तिलाई प्रेस पास वा नवीकरणको प्रमाणपत्र हस्तान्तरण गर्नेछ । त्यसले केही समय लिए पनि आफ्नै जिल्लामा निवेदन दिने र त्यहींबाट आफ्नो प्रमाणपत्र संकलनको सुविधा सञ्चारकर्मीले पाउने छन् ।










