रसुवा बाढी प्रभावितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

देश । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग उपलब्ध तथा दातृ निकायबाट प्राप्त स्रोत-साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो ।

उहाँले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलले उनीहरूको मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। छलफलका क्रममा प्रभावित क्षेत्रका जनप्रतिनिधिबाट विपद्का समयमा संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएको कुरा सुन्न पाउँदा आफू खुसी भएको उहाँले बताउनुभयो। प्रधानमन्त्री शाहले जनप्रतिनिधिलाई लक्षित गर्दै भन्नुभयो, ‘यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ। तर, यस विपद्मा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्‍यौँ।’

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। सडक सञ्जाल सञ्चालनमा आएपछि प्रभावित नागरिकलाई पूर्ववत् अवस्थातर्फ फर्कन सहज हुने उहाँको विश्वास छ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरूले सुरुदेखि नै नदी तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा रहेको विषय उठाउँदै आएको बताउनुभयो। स्थानीय जनप्रतिनिधिले भनेजस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने उहाँले बताउनुभयो।

त्यसका लागि प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउने गरी सरकारले तयारी सुरु गरेको जानकारी उहाँले दिनुभयो। प्रधानमन्त्री शाहले बस्ती पुनःस्थापना गर्दा प्रभावित नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलगायतका विषयलाई ध्यान दिनुपर्ने बताउनुभयो।

यसका लागि स्थानीय जनप्रतिनिधिलाई आफैँ जग्गाको पहिचान गरी संघीय सरकारलाई सिफारिस गर्न प्रधानमन्त्री शाहले आग्रह गर्नुभयो। आजको भेटमा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलले त्यहाँको वस्तुस्थिति बुझ्न सहयोग पुगेको प्रधानमन्त्री शाहले बताउनुभयो।

कमेन्ट गर्नुहोस्