विदेश । अर्जेन्टिनाका खेलाडी लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । बार्सिलोनाका फरवार्ड मेसी फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीको शीर्ष स्थानमा रहेका छन् । उनको वार्षिक कमाइ १ सय २६ मिलियन अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।
मेसीले पारिश्रमिकबाट ९२ मिलियन डलर र एन्डोरसमेन्टबाट ३४ मिलियन डलर कमाइ गरेका छन् । युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियनसहित कूल १ सय १७ मिलयन डलर कमाइ गरेका छन् । मेसीले रोनाल्डोको भन्दा ९ मिलियन बढी कमाइ गर्दै विश्वकै सर्वाधिक कमाउने खेलाडी बनेका हुन् ।
यस्तै अन्य खेलाडीहरुमा तेस्रो स्थानमा नमार छन् । उनले वार्षिक ९६ मिलियन अमेरिकी डलर कमाउछन् । यसैगरी चौथो स्थानमा रहेका किलिएन एमबाप्पेले ४२ मिलयन अमेरिकी डलर कमाउछन् । यस्तै प्रिमियर लिग क्लब लिभरपुलका मोहमम्द सालाह पाँचौ स्थानमा छन् । उनको कमाइ ३७ मिलियन अमेरिकी डलर रहेको छ ।
यस्तै , छैठौं स्थानमा रहेका म्यानचेष्टर युनाइटेडका पउल पोग्वाको कमाइ ३४ मिलियन अमेरिकी डलर , सातौ स्थानमा रहेका बार्सिलोनाका एन्टोनी ग्रीजमनको कमाइ ३३ मिलियन अमेरिकी डलर , आठौं स्थानमा रहेका रियल मड्रिडका गारेथ बेलको कमाइ २९ मिलियन अमेरिकी डलर , नवौं स्थानमा रहेका बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीको कमाइ २८ मिलियन अमेरिकी डलर र दशौँ स्थानमा रहेका म्यानचेष्टर युनाइटेडका डेविड डे हेअको कमाइ २७ मिलियन अमेरिकी डलर रहेको छ । (एजेन्सी)










