देश । पछिल्लो समय देशमा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै निषेधाज्ञा हुने जिल्लाहरुको संख्या बढ्दो छ । तर , गुल्मीमा आजबाट निषेधाज्ञा हटाइएको छ । कोरोन संक्रमणको जोखिम बढेपछि यही भदौ ७ गतेदेखि १२ गतेसम्म निषेधाज्ञा जारी गरिएको गुल्मीमा भदौ १९ गते राति १२ बजेसम्म अर्थात् १ हप्ताका लागि भने लकडाउनको नयाँ मोडालिटी बनाइएको छ ।
नयाँ मोडालिटी अनुसार दुग्ध ब्यवसाय बिहान नौ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म , तरकारी र फलफूल पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म , अन्य पसल, उद्योग व्यवसायहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए । अन्य आवश्यक सेवाहरु अस्पताल, औषधि पसल र पेट्रोलपम्प भने २४ सौं घण्टा खुला रहनेछन् ।
यद्यपि जिल्ला प्रवेश गर्नेहरुले अनिवार्य पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । जिल्ला प्रवेश गर्ने नाकामा कडाइ गर्दै बाहिरबाट पसल तथा व्यवसायीक सामाग्री ढुवानी गर्ने चालक र सहचालकले पनि पीसीआर रिपोर्ट देखाउनु पर्ने प्रजिअ शर्माले बताए । रिपोर्ट नभए १० दिन सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्नुपर्ने छ ।












