कोरोना संक्रमितको संख्या १ हजार ४२

देश । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १ हजार सय ४२ पुगेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, स्याङ्जा र बर्दियाका ३/३ जना, दोलखा र कैलाली २/२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एक/एक जना रहेका छन् ।

धनुषामा संक्रमित हुनेमा ४ वर्षकी बालिका र ८ वर्षका बालक पनि छन् । अन्य संक्रमित १४ देखि ७० वर्ष उमेर समूहको रहेको बताइएको छ । यस्तै , महोत्तरीका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनी १५ देखि ४५ वर्षका छन् । सर्लाहीका ७ र सिराहाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही जिल्लामा देखिएका ७ जना नै मलंगवा नगरपालिका अन्तरगतको वडा नम्बर २ मा निर्माण गरिएको कवाद हलको क्वारेन्टाइनमा रहेका छन् । ति सम्पूर्ण सर्लाही जिल्ला अन्तर्गत पर्ने मलंगवा नगरपालिकाका वडा नम्बर ३ र ९ का १/१ जना वडा नम्बर ६ खुटौनाका ३ जना र वडा नम्बर ११ गम्हरीयाका २ जना रहेका छन् । संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई मलंगवा २ स्थित रहेको सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेशन वार्ड राखेर उपचार गरिनेछ । संक्रमित सम्पूर्ण व्यक्ति भारतका विभिन्न स्थानबाट आएका थिए ।

पछिल्लो समय लगातार संक्रमितको संख्या बढ्ने जिल्लामा रौतहट पर्छ । पछिल्लो २४ घण्टामा मात्र यहाँ २० जनामा संक्रमण पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , टेकुमा गरिएको परीक्षणमा १२ देखि ३० वर्षका ३ जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ वर्षीय बालिकदेखि ४० वर्षका पुरुषसम्म १७ जनामा संक्रमण देखिएको हो ।

यसैगरी सप्तरीमा १४ संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको गरिक्षणमा १८ देखि ४२ वर्षका १२ जना तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३२ र ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैलेखमा पनि ८ जना संक्रमित थपिएका छन् । दैलेख अन्तर्गतको नारायण नगरपालिका अन्तर्गतको वडा नम्बर १ मा २६ वर्षीय पुरुष , वडा नम्बर ३ मा १९ , ३० , ३६ र ४० वर्षीय पुरुष , वडा नम्बर ४ मा १ वर्षीय बालक र २० वर्षीय महिला तथा वडा नम्बर ५ मा १७ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको हो । उनीहरु सम्पूर्ण स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताएको छ । यसैगरी कर्णाली प्रदेशमा ८ नयाँ संक्रमित देखिएसँगै कुल संक्रमितको संख्या ४६ पुगेको छ ।

सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतकै १३, बझाङका एक र पहिचान खुल्न नसकेकी एक महिला गरी १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । दोलखाका १९ र २० वर्षका २ पुरुष, सोलुखुम्बुका ५५ वर्षका १ पुरुष, मकवानपुरका ५० वर्ष पुरुष र नवलपुरका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । २२ र २६ वर्षका पुरुष र ४९ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै , दार्चुलाका २५ वर्षीय पुरुष तथा कैलालीका २५ र ३० वर्ष गरी ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । भेरी अस्पताल, नेपालगञ्जको प्रयोगालामा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म १८७ जना निको भइसकेका छन् । त्यस्तै बुधबार थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार ललितपुरको बुङमतीका ५६ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा एक/एक गरी ४ जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्