विदेश । भारतको क्वारेन्टाइनमा रहेका एक नेपालीको मृत्यु भएको छ । नौतनवास्थित क्वारेन्टाइनमा बसेका मृत्यु हुने व्यक्ति स्याङ्जाको हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय पुरुष हुन् । गत जेठ ५ गतेदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा उनलाई राखिएको थियो । उनको मृत्यु शनिवार भएको हो ।
उनी भारतको अलिगढबाट केही दिन पैदल हिँडेर सुनौली नाकासम्म आएपनि नेपाल तर्फबाट उनलाई बुझ्ने कोही नआएपछि उनी नेपाल प्रवेश गर्न पाएका थिएनन् । उनको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार नजिकको अस्पतालमा चेकजाँच गरेर पुनः क्वारेन्टाइन फर्केका थिए । तर क्वारेन्टाइनमा फर्केलगत्तै उनको मृत्यु भएको आफन्तले जनाएका छन् । बेलहिया नाका हुंदै नेपाल आउनुपर्ने नेपालीलाई सम्बन्धित जिल्लाका स्थानीय तहले प्रमाणीकरण गरेर नल्याएसम्म उनीहरुलाई फर्काएर नौतनवाका क्वारेन्टाइनमा राख्ने गरिएको छ ।








