देश । व्यवसायी रुपज्योति कंसाकारविरुद्ध ठगीको उजुरी दिएका विगेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ताका लागि निवेदन दिएका छन् । यसअघि आफूलाई ठगी गरेको भन्दै प्रहरीमा दिएको जाहेरीलाई फिर्ता गर्ने मनसाय मल्लले बनाएका हुन् । उनकै जाहेरीको आधारमा हाल रुपज्योति प्रहरी हिरासतमा छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले मल्लले उजुरी फिर्ताको लागि निवेदन दिएको जानकारी दिए । उनका अनुसार मल्लले पैसा पाएको भन्दै जाहेरी फिर्ता लिन पाउँ भन्ने व्यहोरको निवेदन दिएका छन् । कंसाकारविरुद्धको जाहेरी फिर्ता भएमा उनीविरुद्द अदालतमा मुद्दा लगिनेछैन । पीडित भनिएको व्यक्तिले नै जाहेरी फिर्ता लिन निवेदन दिइसकेपछि रुपज्योतिविरुद्ध मुद्दा चल्ने सम्भावना कम छ ।
प्रहरीले अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । अनुसन्धानका लागि भन्दै प्रहरीले समय मागेपछि जिल्ला अदालत काठमाडौंले अनुसनधानका लागि पहिलो पटक ३ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । जिल्ला अदालत काठमाडौंले ०७५ मंसिर २० गते ज्योतिको नाममा पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो । त्यसपछि मंसिर २५ गते जिल्ला अदालतले जारी गरेको पुर्जी खारेजको माग गर्दै ज्योति सर्वोच्च अदालत गएका थिए । कात्तिक २८ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशले ज्योतिको सो रिट खारेज गरेको थियो ।
काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित ल्यान्डमार्क डेभलपर्स प्रालि र विजेन्द्रकृष्ण मल्लबीच २०७१ सालमा घर निर्माणसम्बन्धी सम्झौता भएको थियो । सम्झौतामा ६ आना ३ दाम २.१६ पैसाको जग्गामा घर बनाएर मल्ललाई हस्तान्तरण गर्ने सहमति थियो । सम्झौताबमोजिम मल्लले ल्यान्डमार्कलाई अग्रिम एक करोड ३६ लाख रुपैयाँ दिएका थिए । घर बनाएर हस्तान्तरण गर्दा मल्लले २ करोड १४ लाख १९ हजार ७५० रुपैयाँ बुझाउनुपर्ने सम्झौतामा थियो । तर, सो जग्गामा घर नबनाई एक करोड ३६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।