हरिवन–क्यानेश्वर सडकखण्ड स्तरोन्नती अभियान सुरु

देश । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा युरोपेली मुलुकहरु पुनः दोस्रो चरणको लकडाउनमा छन् । नेपालमा पनि पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ । यद्दपी जीवनलाई सहज बनाउदै जाने सुरुवात पनि भइरहेको छ । यस्तै अवस्थामा पनि सर्लाहीमा नेपाली कांग्रेस नेता विनोद खनाल विकास निर्माणको अभियानमा सक्रिय छन् ।

कोरोना भाइरसको महामारीको समयमा पनि सुरक्षा सम्बन्धि मापदण्ड अपनाएर जनताको काममै रहेका नेता खनाल नेपाली कांग्रेस महासमिति सदस्यसँगै सर्लाहीका पुर्व जिल्ला उपसभापति हुन् । उनले यतिबेला सर्लाहीको हरिवनबाट सिन्धुलीको क्यानेश्वर जोड्ने सडकलाई नाला सहितको पक्की सडक निर्माण अभियानलाई अगाडी बढाएका छन् ।

कांग्रेस हरिवन नगरका युवाहरुसँगै विकासप्रेमीलाई साथमा लिदै उनले अभियानलाई अगाडी बढाएको पत्रकार सम्मेलनमा बताए । शनिबार सिन्धुलीको क्यानेश्वरसम्म यात्रा गरेर साँझ फर्किएका कांग्रेस नेता खनालले हरिवन–क्यानेश्वर पक्की सडक निर्माण गरी हरिहरपुरगढी गाउँपालिका अन्तर्गत मदन भण्डारी मार्ग (धरान–चतरा–हेटौंडा वैकल्पिक मार्ग) सँग जोड्ने कांग्रेसको अभियान सूरु गरिएको जानकारी दिए ।

नेता खनालले विकासको लागि सडक अपरिहार्य रहेकोमा जोडदिदै आफुहरुको अभियानमा विकास प्रेमीलाई सहकार्य गर्न आग्रह समेत गरे । ‘सडकहरु नभई विकास सम्भव छैन, त्यसैले दक्षिणमा भारतीय सिमा स्थित विष्णु गाउँपालिकाको सिमरा फेनरा नाका तथा उत्तर मदन भण्डारी मार्ग जोड्ने सेतुको रुपमा हरिवन–क्यानेश्वर सडकखण्डलाई पक्की बनाउनु अत्यन्त जरुरी छ ।’

मरिन डाईभर्सनको चर्चा अनि फास्ट्रयाकसँग जोडिने मदन मण्डारी मार्गसँग सिधै भारतसम्म जोडिने सडक सञ्जालको रुपमा हरिवन–क्यानेश्वर–मदनभण्डारी मार्ग सडकखण्ड पक्की गर्नु दुरगामी महत्व रहेको समेत खनालको जोड थियो । उनले कांग्रेसले सूरु गरेको अभियान अन्तर्गत सबै राजनैतिक दलका नेताहरु, उद्योगी व्यापारी लगायत सरोकारवाला सबै पक्षलाई समेट्दै हरिवन नगरपालिकाका मेयर, प्रदेश सरकार सहित संघीय सरकारमा पक्की सडक निर्माणका लागि ज्ञापन पत्र दिने तयारी भईरहेको जानकारी दिए ।

आयोजित पत्रकार सम्मेलनमा हरिहरपुर गढी गाउँपालिका–७ का वडाध्यक्ष बालकृष्ण नेपालले पनि सडकले दुवै पक्षलाई विकासमा टेवा पुर्याउने बताए । २०५१ सालदेखि हरिवन–क्यानेश्वर सडकखण्ड पक्की निर्माणका लागि खटिरहेका वडाअध्यक्ष नेपालले हरिवन–क्यानेश्वर १३ किलोमिटर सडकखण्डको डीपीआर गराईसकेको समेत जनाए । ‘अब क्यानेश्वर देखि मदन भण्डारी मार्ग जोडने १८ किलोमिटर सडकखण्डको पनि डीपीआर तयार पार्न पनि हाँमी तयार छौं’ वडाध्यक्ष नेपालले भने ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठले क्यानेश्वर लगायत त्यस क्षेत्रमा पर्ने थुप्रै गाउँका जनताको सुविधाका लागि मात्र नभई हरिवनको आर्थिक विकासका लागि पनि हरिवन–क्यानेश्वर सडकखण्ड स्तरोन्नती अनिवार्य रहेको धारणा व्यक्त गरे । श्रेष्ठ झैँ चेम्बर अफ कमर्स हरिवनका अध्यक्ष कृष्णओम पोतेले पनि हरिवन–क्यानेश्वर सडकखण्ड स्तरोन्नतीको विकल्प नरहेको उल्लेख गर्दै सबैलाई एकजुट हुन आग्रह गर्दै आफूहरुको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए ।

त्यसैगरी हरिवन नगरपालिकामा कांग्रेसबाट मेयरका प्रत्यासी दिलिप राज भण्डारीले राजनीति गर्ने भनेको विकास र समृद्धिका लागि भएको उल्लेख गर्दै सबै राजनैतिक दलका नेताले निस्वार्थ भावका साथ हरिवन–क्यानेश्वर सडकखण्ड स्तरोन्नतीका लागि एकजुट भएर पहल गर्न आग्रह गरे । पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका नेता रघु कार्कीले हरिवन–क्यानेश्वर सडकखण्ड स्तरोन्नतीका लागि प्रतिपक्षमै रहेको समयमा कांग्रेसले नेतृत्व गर्नुपर्ने धारणा राखे । उनले प्रतिपक्षमै रहेको अवस्थामा हरिवन–पटौना (सासापुर) जोड्ने करोडौंको पुल कांग्रेसकै नेतृत्वमा बनेको सम्झिदै यसपटक पनि विकास निर्माणको कार्यमा जनताको विश्वास लिएर अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रममा सहभागिलाई धन्यवाद प्रकट गर्दै प्रजातान्त्रिक समाज सर्लाहीका अध्यक्ष एवं कांग्रेस वितिय विभागका केन्द्रीय सदस्य रामहरि न्यौपानेले समानुपातिक विकासका लागि आफूहरु लागि परेको जानकारी दिए । कांग्रेसका युवा हरि थापाले सहजिकरण गरेको कार्यक्रममा कांग्रेसका नेताहरु नरेन्द्र भट्टराई, अर्जुन योञ्जन, रमेश भट्टराई लगायत दुई दर्जन नेताहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्