बेलायतमा ‘स्टे अलर्ट’

विदेश । बेलायतमा पछिल्लो डेढ महिनादेखि जारी लकडाउनलाई चरणवद्ध रुपमा खुकुलो पार्दै लैजाने योजना रहेको आइतबार साँझ एक विशेष सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले जनाए । शर्तसहित लकडाउन खोल्ने योजना रहेको जानकारी उनले गराएका हुन् । पहिलो चरणमा यही सातादेखि एकै घरका मानिसहरु पार्कमा बस्न पाउने, व्यायाममा समयको कुनै सीमा नलगाइने, सामाजिक दूरी पालन गर्दै गल्फ, टेनिस लगायतका खेलहरु सञ्चालन गर्न पाइने लगायतका छुटहरु रहनेछन्। त्यस्तै, सरकारले घरबाटै काम गर्न असमर्थहरुलाई यसै सातादेखि आवश्यक सतर्कतासहित काममा जान प्रोत्साहित गरेको छ। तर उनीहरुलाई सार्वजनिक यातायात भन्दा आफ्नै सवारीको प्रयोग वा पैदलयात्रा गर्न आग्रहगरिएको छ।

प्रधानमन्त्री जोन्सनले दोस्रो चरणमा जुन महिनाको पहिलो सातादेखि प्राइमरी स्कुल र पसलहरु खुलाउने योजना अघि सारेका छन् । त्यस्तै, तेस्रो चरणमा जुलाई महिनादेखि हस्पिटालिटी क्षेत्रका केही व्यवसाय र अन्य सार्वजनिक स्थानहरु पनि खोल्ने योजना छ। लकडाउन खुकुलो पार्ने यी सबै योजनाहरु सशर्त रहेको भन्दै प्रधानमन्त्रीले जोखिम बढ्दै गएतत्काल सबै परिवर्तन खारेज गरिने बताएका छन्। बेलायत सरकारले अहिलेसम्म घरमै बस्न आव्हान गर्दै आएकोमा स्टे होमको अपीललाई अब स्टे अलर्टका रुपमा परिवर्तन गरेको छ। अहिलेसम्म बेलायत कोरोना संक्रमणबाट मृत्युको हुनेमा अमेरिकापछि दोस्रो र युरोपमा पहिलो राष्ट्र बन्न पुगेको छ। आइतबारसम्म बेलायतमा ३१ हजार ८ सय ५५ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या करिब २ लाख २० हजार पुगेको छ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्