देश । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) का कारण विश्व नै ठप्प छ । विश्वका अधिकांस देशले लकडाउन गरेर सामाजिक दुरी कायम गर्दै कोरोना भाइरसको महामारी फैलिनबाट रोकिरहेको छ । यसैक्रममा नेपाल पनि गत चैत्र ११ गतेदेखि लकडाउन छ । यसको कारणले दैनिक ज्याला गरेर बसिरहेका श्रमिक मारमा परेका छन् । काम बन्द भएपछी बिहान बेलुकीको छाक टार्न समस्या परिरहेको खबर मिडियामा आइरहेको छ ।
केहि संस्था तथा व्यक्तिले यस्तो बेलामा राहत उपलब्ध गराईरहेका छन् । यसैक्रममा काठमाडौंमा समस्यामा रहेका मधेसका विभिन्न जिल्लाका अति विपन्न ४३ परिवारलाई नेपाल विधार्थी संघका केन्द्रीय सदस्य रघु कार्कीले राहत वितरण गरिएको छ । काठमाडौंको गौरीघाटमा बस्दै आएका मधेशबाट काठमाडौं आएर जुत्ता सिलाएर जिविका धानिरहेका अति विपन्न परिवारलाई कार्कीले उनीहरुको बासस्थानमै पुगेर राहत हस्तान्तरण गरेका छन् ।
प्रति परिवार चामल, दाल, तेल, नुन लगायतका खाद्य सामग्री प्रदान गरिएको नेता कार्कीले जनाएका छन् । आत्मीयता र सामाजिक सदभाव कायम गर्दै मधेशका विपन्नलाई सहयोग गरेको उनले बताए । लकडाउनका कारण अड्किएका र दैनिक ज्याला गरिरहेकालाई अवस्था हेरेर सहयोग गरेको उनले बताए । प्रदेश नम्बर २ का बासिन्दा कार्कीले आफु पनि मधेसको भएकाले मधेसबाट आएका अति विपन्न परिवार समस्यामा रहेको कुराले आफुलाई भावुक बनाएको बताए । घरमै राहत आइपुग्दा विपन्न परिवार भने हर्षित देखिन्थे ।












