देश । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क कारले ‘स्पार्क एड्भेन्चर २०२३’ अन्तर्गत आयोजना गर्ने ‘वाइल्ड स्टे विथ चौँरी’मा क्याप्टेन विजय लामा, निखिल उप्रेती, सन्दीप क्षेत्री लगायतका कलाकारले सहभागिता जनाउने भएका छन् । कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी हुनेछन् । प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकोले उक्त स्थानको प्रचार प्रसारको लागि कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।
असोजको ११ देखि १३ गतेसम्म हुने एड्भेन्चरमा लोक गायक प्रेम राजा महत, कलाकार गरिमा शर्मा, गायक यश कुमार, लेखक बुद्धिशागर, डा रन्जित बराल, कमेडियन कैलाश कार्की, मोडल रीना थापा मगर, ट्राभलर सिर्जना सिज्जु समेतको सहभागिता रहने छ ।
असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरु हुनेछ । असोज १२ गते चौँरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकको भनाइ छ । कार्यक्रममा आन्तरिक पर्यटनको खोजी गर्ने, चौँरीसँग जङ्गलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्यहरू पत्ता लगाउने इच्छा भएका सहभागीहरूले सहभागिता जनाउन सक्ने छन् ।
गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरु भएको एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गर्न लागिएको हो ।









