देश । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाल सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा पेस गरेको छ । नेपालको संविधानको सर्वोच्चता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति र कुनै सैन्य संगठनमा आबद्ध नहुने प्रतिबद्धतासहित एमसीसी सम्झौता टेबल गरिएको सरकारको भनाइ छ । यस विषयमा बोल्दै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय महत्त्वको विषयमा संसदमा छलफल गर्नु उचित हुने बताएका छन् । उनले एमसीसी सम्झौताको नाम नलिई प्रमुख दलका शीर्ष नेताहरू, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, वुद्धिजीवि एवं लब्ध प्रतिष्ठित व्यक्तिले एमसीसी सार्वभौमा संसदमा छलफल होस् भन्ने भावना रहेको बताए ।
सभामुख सापकोटाले छलफलको वातावरण बनाउन पनि आग्रह गरेका छन् । आइतबार संसद बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदहरुले रोस्ट्रम घेराउ गरेका थिए । त्यसपछि बैठक अघि बढाउँदै सभामुख सापकोटाले नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङ, नेकपा एमालेका भीम रावल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले बोल्न समय दिए । त्यसपछि उनले एमसीसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए ।








