नेविसंघका ७ पदाधिकारीले दिए राजीनामा

देश । नेपाली कांग्रेसको विधार्थी संगठन नेपाली विधार्थी संघबाट सात जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन् ।तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सहमहामन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान भेटेर राजीनामा बुझाएका हुन् । उपाध्यक्षत्रय सञ्जय कुमार यादव, पुष्प शाही र विकास केसीसँगै महामन्त्री सरोज थापा र सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले संयुक्त रुपमा राजीनामा दिएका छन् । देउवा नजिक मानिनेहरु यी सात पदाधिकारीहरु देउवा निवास बुढानिलकण्ठ पुगेर राजिनामा दिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महर अप्ठ्यारोमा परेका छन् । राजिनामा बुझाउने मध्यका एक उपाध्यक्ष संजय यादवले अध्यक्षको मनोमानीको कारण राजिनामा दिएको बताए ।

‘तोकिएको मितिमा अधिवेशन गर्न सकिएन, यस्तो अवस्थाले नेविसंघ चल्दैन, त्यसैले निकास दिनका लागि पार्टी सभापतिलाई संयुक्तरुपमा राजीनामा बुझाएका हौं’ उपाध्यक्ष यादवले बताए । उनि प्रदेश नम्बर २ बाट उपाध्यक्ष भएका हुन् । नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । नेविसंघले यसअघि नै भाद्रमा महाधिवेशन घोषणा गरेको थियो तर उक्त मितिमा हुनसकेन । त्यसपछि नयाँ मिति पौष २८ लाई तोकिएको थियो तर यस मितिमा पनि महाधिवेशन सुरु हुनसकेन ।

कमेन्ट गर्नुहोस्