विदेश । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिएका छन् । समितिका अनुसार मंगलवारसम्म २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन् ।
यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो । उद्धार समितिका संयोजक डा. बद्री केसीले रुसमा रहेका नेपालीहरुले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीहरुसंग सम्पर्क रहेको जानकारी दिए । उनले समितिहरु उद्धार कार्यमा सकृय रुपमा लागि परेको जानकारी दिदै एनआरएनए पोल्याण्डको सकृयतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको जनाए ।
रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीहरुले युक्रेन छोडेको जानकारी दिए । एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीहरुलाई खाना बस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जनाकारी दिदै अलपत्र परेर त्यहाँ पुगेका नेपालीहरुले आफ्नो संजाल बनाएर एक अर्कालाई सहयोग गरेको बताए । बैठकमा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकका अध्यक्ष यदु पन्थी, सुरेन्द्र श्रेष्ठ (हङग्रेरी), सन्तोष भट्टराई (जर्मनी) सोनाम शेर्पा (स्लोभाकिया), संजय कार्की (हङगेरी), निलम आचार्य (जर्मनी), लगायतले आफ्नो भनाईहरु राखेका थिए ।










