विदेश । पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूके’ को टप ८ मा पर्न सफल भएका छन् । यो सेमिफाइनल राउन्डभन्दा माथि मानिन्छ । मंगलबार राति ‘बीबीसी वान’ मा प्रसारित सेमिफाइनलबाट उनी अघिल्लो राउन्डका लागि छनोट भएका हुन् ।
सेमिफाइनल राउन्ड प्रवेश गरेका १० प्रतियोगीलाई दुई समूहमा प्रतिस्पर्धा गराउदै दुवै समूहबाट ४, ४ जना छनोट गरेर कूल ८ जनालाई अघिल्लो राउन्डमा पुर्याउदा सन्तोष पनि चयन भएका हुन् । सेमिफाइनल राउन्डमा सन्तोषले नेपालको हाइ अल्टिच्युड (हिमाली भेग) मा प्रचलित शाकाहारी खाना भुटेको काँक्रोको बियाँ, बन तरुल, कटहरको भुटेको बियां, प्याजको अचार, स्याउको चट्नी जस्ता परिकार चखाएर निर्णायकको मन जिते ।
आउँदो डिसेम्बर १७ मा फाइनल हुने यस प्रतियोगितामा ८ जना सेमिफाइनलिस्ट प्रतियोगीबीच फाइनलका लागि बिहिबार प्रतिस्पर्धा हुनेछ । फाइनल राउन्डका लागि ६ जना छनोट हुनेछ ।
प्रतियोगिताका हरेक चरणमा सन्तोषले नेपाली खाना नै पस्किरहेका छन् । सिरहाको कर्जन्हा निवासी साह एसएलसी फेल भएपछि २ दशकअघि १५ वर्षको उमेरमा भारत भासिएका थिए । भाँडा माझ्ने सामान्य किचन पोर्टर हुंदै पाँच तारे होटलको एक्जुकेटिभ सेफसम्म बन्न सफल भए उनी । उत्कृष्ट दक्षता देखाएरै सन् २०१० अन्त्यतिर वर्क पर्मिटमा लन्डन उत्रिएपछि सन्तोषले कहिल्यै पछाडि फर्कनु परेन । (एजेन्सी)









