विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १२ लाख २ हजार नाघेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकमा उल्लेख छ ।
अमेरिकामा तीन लाख ११ हजार , स्पेनमा एक लाख २६ हजार, इटालीमा एक लाख २४ हजार, जर्मनीमा ९६ हजार र फ्रान्समा ९० हजारभन्दा बढीमा यो भाइरसको संक्रमण देखिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको यो भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या पनि ६४ हजार सात सय ५३ पुगेको छ । इटालीमा अहिलेसम्म भाइरसको कारण १५ हजार तीन सय ६२, स्पेनमा ११ हजार नौ सय ४७, अमेरिकामा आठ हजार आठ सय ८८, फ्रान्समा सात हजार पाँच सय ७४ र बेलायतमा चार हजार तीन सय २० जनाको ज्यान गएको छ ।
अहिलेसम्म यो भाइरसबाट संक्रमित दुई लाख ४६ हजारभन्दा धेरै मानिसहरु निको भएर घर फर्किसकेका छन् । जसमध्ये सबैभन्दा धेरै चीनमा ७६ हजार नौ सय ४६ जना संक्रमित निको भएका छन् । (एजेन्सी)









