देश । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सम्वोधन गर्दै नेपाली जनतालाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरे । ‘हाम्रो जान जीवनमा केहि समस्या पर्छ तर अवस्थासंग जुधन हामी तयार हुनु पर्छ । हामीले प्रदान गर्न सक्ने सम्पूर्ण सेवा प्रदान गर्नेछौ’ प्रम ओलीले सम्बोधन गर्दै भने । संसारभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड- १९) को संभावित संक्रमण रोकथाम लगायतका बिषयमा शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिन नदिन अझै सजग हुनु पर्नेमा जोड दिए ।
यसैगरी उनले आउँदो चैत्र अर्थात आइतबार देखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिदिएको बताएका छन् । देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको जानकारी प्रम ओलीले सम्बोधनको क्रममा गराए ।
राजपत्रमा अत्यावश्यक सेवाअन्तर्गत निम्न कुराहरू राखिएका छन्:
–डाँक तार वा टेलिफोन सेवा
–जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा
–हवाइ अड्डा ,हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
–हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा
–प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा
–हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा
–सञ्चार सेवा
–आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
–खानेपानीको सञ्चालन तथा वितरण सेवा
–पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा
–पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा
–अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवा जस्ता सेवाहरु)
–औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा
–फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार -निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा,
–बैंकिंङ सेवा
–बीमा सेवा
–विधुतीय सेवा
–दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
– मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा
यीबाहेकका सेवा दिने निजी तथा संस्था वा व्यवसाय भने ९ गतेदेखि बन्द गर्नु हुने भएको छ ।












