काठमाडौं । इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न नेपाल इन्जिनियरिङ एसोसिएसनले माग गरेको छ । निजी क्षेत्रमा काम गर्ने इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न हालै राजधानीमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनले सरकारसँग माग गरेको हो ।
सरकारी र निजी क्षेत्रमा कार्यदल बनाएर गरिएको अध्ययनअनुसार न्यूनतम ३७,१३५ पारिश्रमिक हुनुपर्ने एसोसिएसनले जनाएको छ ।
न्यूनतम पारिश्रमिक तय नहुँदा शोषणमा परेका इन्जिनियरहरू विदेश पलायन हुने भन्दै एसोसियसनका अध्यक्ष हरि बहादुर दर्लामीले दक्ष जनशक्तिको पलायनलाई न्यूनीकरण गर्न पनि न्यूनतम पारिश्रमिक तोकिनुपर्ने तर्क गरे । अध्यक्ष दर्लामी र महासचिव रविभुषण झाले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै न्यूनतम पारिश्रमिक ताेक्न माग गरेका हुन् ।
एसोसिएसनको माग पत्रमा निजी तथा गैरसरकारी क्षेत्रले सरकारी स्केलको कम्तीमा ८५ प्रतिशत तलब सुविधा दिनुपर्ने नीतिगत व्यवस्था गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।









