संगीत । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सराना श्रेष्ठको स्वरमा रहेको गीत ‘पानी छायाँ’ सार्वजनिक गरिएको छ । गायनमा सरानालाई उनका पिता तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले साथ् दिएका छन् । गीतकार राजेन्द्र थापा , संगीतकार राजनराज शिवाकोटी रहेको गीतको भिडियोलाई आयोजित कार्यक्रममा देखाइएको थियो । मदन र सरानासँगै हरिवंश आचार्य , राजेन्द्र थापा , दीपाश्री निरौला , केदार घिमिरे , भिडियोका निर्देशक सुव्रतराज आचार्य र कार्यक्रमका होस्ट सन्दीप क्षेत्रीले संयुक्त रुपमा गीतको ‘सिग्नेचर स्टेप’ गरेपछि भिडियो देखाईएको थियो ।
कार्यक्रममा उपस्थितले सरानाको स्वरको तारिफ गरेका थिए । साथै , भिडियोलाई पनि रुचाए । विशेषत भिडियोमा प्रस्तुत गरिएको कन्सेप्टको चर्चा भयो । भिडियोमा मदन र सरानासँगै केविश पाण्डे , आर्शिना भट्टराईको पनि अभिनय रहेको छ । भिडियोमा राजिव समरको कोरियोग्रफी रहेको छ भने यसलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । ‘मैले मदन दाइ र सरानाको भिडियोलाई निर्देशन गर्ने मौका पाए , यो मेरो लागि अवसरसँगै चुनौती पनि थियो’ सुव्रतले भने ।











