फिल्म । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘माछा माछा’ को बुधवार साँझ राजधानीमा प्रिमियर गरिएको छ । सुनिल गुरुङको डेब्यु निर्देशन रहेको फिल्मलाई प्रिमियरमा फिल्मकर्मीसँगै मिडियाकर्मीले हेरे । क्राइम कमेडी जनरको फिल्मलाई हेर्न प्रिमियरमा युनिटसँगै गौरव पहारी , मिरुना मगर , बुद्धि तामाङ, असिफ शाह, असिम शाह , दीपेन्द्र लामा , सुरेन्द्र पौडेल , साम्तेन भुटिया लगायतको उपस्थिति रहेको थियो । प्रिमियरमा उपस्थितहरुले यसलाई रुचाएका छन् । फिल्मको कथावस्तु अनुसारको पात्र चयन र प्रस्तुतीकरण रहेको प्रारम्भिक प्रतिक्रिया यसले पाएको छ ।
सेलेब्स रिभ्युलाई मान्ने हो भने फिल्मले दर्शकलाई निराश बनाउदैन । ट्रेलर हेरेर फिल्म हेर्ने मानसिकता बनाएका दर्शकको समय र पैसाको सदुपयोग हुने उनीहरुको सामुहिक सार थियो । तीन युवाले सहरमा जीवन स्थापित गर्न लागिपरेको सङ्घर्षको कथा यसमा देखाइएको छ । फिल्ममा सौगात मल्ल , नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् भने , यसलाई शिवराम श्रेष्ठले फिल्म खिचेका हुन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ को सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ । फिल्ममा दयाहाङ अतिथी भूमिकामा छन् ।
तस्वीरहरु : आर्यन बिमली












