फिल्म । भारतीय सुपरस्टार शाहरुख खानको एक्शन थ्रिलर ‘किङ’ मा कलाकारहरूको नाम थपिंदै जाँदा दर्शकको उत्साह झनै बढ्दै गएको छ। ‘पठान’ का निर्देशक सिद्धार्थ आनन्दद्वारा निर्देशित यस फिल्ममा हालै अभिनेता अर्शद वारसीको नाम सार्वजनिक भएको थियो । पिंकभिला को रिपोर्ट अनुसार, बहुप्रतिभाशाली अनिल कपूर पनि फिल्मको प्रमुख भूमिकामा देखिने भएका छन् ।
रिपोर्ट अनुसार, फिल्ममा शाहरुख खान एक हत्याराको भूमिकामा प्रस्तुत हुँदैछन् भने अनिल कपूर उनको ‘ह्यान्डलर’ र मेन्टर को भूमिकामा देखिनेछन् । निर्माताहरूले धेरै कलाकारहरूमध्ये कपूरलाई उपयुक्त ठानेका हुन् । अनिल पनि शाहरुखसँग पुनः सहकार्य गर्न उत्साहित रहेको रिपोर्टमा उल्लेख छ ।फिल्मको सुटिङ मे १८ देखि मे २० भित्र मुम्बईमा सुरु हुँदैछ । भारत र विदेशमा १०० दिनको सुटिङ तालिका तय गरिएको छ । निर्माता टिमले फिल्मलाई २०२६ को अन्त्यमा विश्वव्यापी रूपमा रिलिज गर्ने लक्ष्य लिएको छ ।
‘किङ’ मा दीपिका पादुकोण, अभिषेक बच्चन, अर्शद वारसी, सुहाना खान, र अभय वर्मा पनि प्रमुख भूमिकामा छन् । यो फिल्म ‘डंकी’ पछि शाहरुखको पुनरागमन हुने भएकाले पनि ठूलो चासोको विषय बनेको छ ।
फिल्मले आधुनिक दर्शकहरूको भावनात्मक तथा नाटकीय संवेदनशीलता अनुसार तयार गरिएको बताइएको छ । शाहरुख खानलाई यसपटक पहिल्यै नदेखिएको अवतारमा देख्न पाइनेछ, जहाँ एक्शन र स्टाइलको विशेष ध्यान दिइएको छ ।










