‘अञ्जिला’ लिएर अस्ट्रेलिया पुगे निर्माता श्रेष्ठ

फिल्म । नेपाली महिला फुटवल टिमकी गोलरक्षक तथा पूर्व कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधिरित रहेर तयार गरिएको फिल्म ‘अञ्जिला’ अस्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन हुने भएको छ । अस्ट्रेलियाको एडिलेडबाट सुरू भएको प्रदर्शन अन्य सहरमा पनि गरिने निर्माता प्रेमकुमार श्रेष्ठले जानकारी दिएका छन् । खेलाडी सुब्बाको गडफादरका रुपमा परिचित निर्माता श्रेष्ठले आज एडिलेडमा हुने शो पश्चात सिड्नीमा प्रदर्शन गरिने जानकारी दिएका छन् ।

‘अञ्जिला नेपालमा प्रदर्शन भएको समयमा विविध कारणले हामीले अस्ट्रेलियामा फिल्म प्रदर्शन गर्न सकेनौँ । नेपालसँगै विश्वभरबाट पाएको मायासँगै यहाँ अस्ट्रेलियामा रहनु भएका खेलाडी र दर्शकले फिल्म बारे धेरै जिज्ञासा राख्नु भएको थियो । अन्ततः म फिल्म लिएर यहाँ आएको छु, अब विभिन्न सहरमा फिल्म प्रदर्शन गर्ने हाम्रो तयारी रहेको छ’, निर्माता श्रेष्ठले भने ।

नेपालमा प्रदर्शनको एक सय दिन पुरा गरेको उक्त फिल्म ‘अञ्जिला’ मा खेलाडी सुब्बासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । निर्माता श्रेष्ठले खेलाडी सुब्बाकै गडफादरको भूमिका निर्वाह गरेका छन् ।

मिलन चाम्सको निर्देशनमा तयार भएको उक्त फिल्मले नेपालमा ८ करोड ८६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको तथ्यांक चलचित्र विकास बोर्डमा छ । निर्माता श्रेष्ठले फिल्म प्रदर्शनको उदेश्य ‘अञ्जिलाको आफ्नै घर’ अभियान रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्