रहेनन् दीलिप कुमार

फिल्म । बलिउडका पुराना तथा दिग्गज कलाकार दीलिप कुमारको निधन भएको छ । ९८ वर्षको उमेरमा उनको निधन बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा हो । ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । करिब २२ वर्षको उमेरमा उनले फिल्ममा काम सुरु गरेका थिए । उनले १९४४ मा फिल्म ‘ज्वार भाटा’ मा काम गरेका थिए ।

दिलीप कुमारले करिब पाँच दशकको करियरमा ६० वटा जति फिल्ममा काम गरे । शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायतका फिल्मले उनलाई दर्शक माँझ सदैव जीवित राख्नेछ । उनको अन्तिम फिल्म किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो ।

दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् । उनी १९९१ मा पद्म भूषण र २०१५ मा पद्म विभूषणबाट सम्मानित भएका थिए । १९९४ मा दादा साहेब फाल्के अवार्ड पाएका थिए । २००० देखि २००६ सम्म उनी राज्यसभा सदस्य पनि बनेका थिए । उनलाई पाकिस्तानले १९९८ मा सर्वश्रेष्ठ नागरिक सम्मान ‘निशान ए इम्तियाज’बाट पनि प्रदान गरेको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्