विवाद बारे ‘घामड शेरे’ ले गर्यो प्रवक्तासँग कुराकानी

फिल्म । रिलिजको लागि दुइ दिनमात्र बाँकी रहदा फिल्म ‘घामड शेरे’ युनिटले राजधानीमा प्रेस मिटको आयोजना गर्दै माफी मागेको छ । आकस्मिक रुपमा आयोजना गरिएको प्रेस मिटमा उपस्थित निर्देशक हेमराज बिसीले माफी मागेका हुन् । अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको फिल्ममा निश्चलले निर्वाहा गरेको पात्र (शेरे) को नाम कांग्रेस सभापति शेरबहादुर देउवासँग जोडेर सामाजिक सञ्जालमा ट्रोल बनेपछि फिल्म विवादमा झेलिरहेको हो ।

सामाजिक सञ्जालमा फिल्मको पोस्टर र नेता देउवाको फोटो जोडेर बनेका ट्रोल केही दिनयता निकै भाइरल भएका छन् । यसले नेता देउवाको व्यक्तित्वमा आँच पुगेको भन्दै कांग्रेसको भातृ संगठन नेवि संघका केहि सदस्यले सुदूरपश्चिममा फिल्म प्रदर्शन नै गर्न नदिने घोषणा गरेको छ । यसका साथै, निर्माण टिमलाई सामाजिक सञ्जालमा विभिन्न खाले धम्की पनि आएको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । फिल्मका निर्देशक विसीले केही दिनदेखि आफूलाई फेसबुकमा ज्यान मार्ने धम्की आइरहेको बताए ।

सामाजिक सञ्जालमा भइरहेको ट्रोलमा फिल्मका कलाकार, निर्देशक, निर्माता र प्राविधिक कसैको पनि संलग्नता र समर्थन नभएको निर्देशक विसीले जारी गरेको विज्ञप्तीमा स्पष्ट पारिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘फिल्मको प्रमुख पात्र शेरेको चरित्र, व्यबहार र कार्यशैली राजनीतिक प्रकृतिको छैन ।’ फिल्मको नामलाई जोडेर सामाजिक सञ्जालमा भएको ट्रोलका कारण कांग्रेस नेता शेरबहादुर देउवाको व्यक्तित्वमा पर्न गएको असर र असुविधाप्रति निर्माण कम्पनी ‘विसी मोसन पिक्चर’ ले क्षमा पनि मागेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस प्रकारको ट्रोल नगर्न र बनाउन पनि विज्ञप्तीमार्फत् अनुरोध गरिएको छ । अभिनेता तथा निर्देशक आसिफ शाहले ‘घामड शेरे’ को पोस्टरसँग नेता देउवाको फोटो जोडिएको ट्रोल आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेपछि विवादले उग्र रुप लिएको हो । उक्त ट्रोलले नेता देउवाको व्यक्तित्वमा आँच पुगेको भन्दै विवाद उत्पन्न भएपछि उनले केही घण्टामा नै फेसबुकबाट पोस्ट हटाए र माफी मागे । तर, उक्त ट्रोल सामाजिक सञ्जाल एकाएक भाइरल बन्यो ।

विज्ञापन

यसपछि निर्माण युनिटले विवादबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासँग बुधबार फोनमा कुराकानी भएको जनाइएको छ । ‘मैले फिल्मको प्रमुख पात्र शेरेको चरित्र, व्यबहार र कार्यशैली राजनीतिक प्रकृतिको नभएको जानकारी गराएपछि उहाँले फिल्मलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’ फिल्ममा एक किसानले प्राकृतिक विपतले भोग्नु परेको समस्यालाई देखाइएको छ । पछिल्लो समय सरकारी कर्मचारीले गर्ने सानो लापरवाहीले एउटा किसानको खेत बगाउदा पर्ने पिडालाई फिल्ममा देखाइएको हो ।

विज्ञापन

फिल्मका लिड कलाकार अर्थात् शेरे निश्चल बस्नेतले यसमा घामड व्यक्ति चरित्र निर्वाह गरेका छन् । फिल्मममा निश्चलको अपोजिटमा सुष्मा निरौला र स्वस्तिमा खड्का छिन् । सुष्मा श्रीमतीको भूमिकामा छिन भने स्वस्तिमा सालीको । फिल्मको अधिकांश छायांकन सुर्खेतमा भएको छ । फिल्ममा निश्चल एक किसानको भूमिकामा छन् । उनले आफ्नो जीवनमा आउँने बाधा-अड्चनलाई कसरि जित्छन , फिल्मयसमै केन्द्रित रहेको छ । निर्देशक बिसीको होम प्रोडक्सन कम्पनी बिसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्