फिल्म । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रातो टीका निधारमा’ लाई विशेष शो मा हेर्नेले रुचाएका छन् । राजधानीमा आयोजित विशेष शो हेर्न पुगेका सेलिब्रेटीले राम्रो लागेको प्रतिक्रिया दिए । डेब्यु ब्वाई अंकित शर्माको सम्भावनालाई केलाउदै फिल्ममा उठान गरिएको विषयवस्तुलाई मन पराएका हुन् । फिल्मका निर्माता तथा निर्देशक अशोक शर्माले पनि फिल्मको प्रारम्भिक प्रतिक्रियाले उत्साहित बनाएको बताए ।
‘हामीले म्यासेजलाई रमाइलो शैलीमा प्रस्तुत गर्ने कोसिस गरेका थियौ , जुन सफल भए जस्तो लाग्छ’ अशोक भन्छन् , ‘हामीले फिल्ममा मनोरंजनसंगै संदेश दिनु पर्छ जस्तो लाग्छ ।’ अशोक पुराना फिल्मकर्मी हुन् । निर्माता , निर्देशक र कालाकारसंगै वितरकको पहिचान समेत स्थापित गरेका अशोक गत वर्ष ‘जय भोले’ मार्फत फिल्म निर्माण तथा निर्देशनमा फर्किए । अंकितले यसअघि अशोकलाई ‘जय भोले’ मा सहायक निर्देशक भएर सघाएका थिए ।
फिल्ममा अंकितसंगै साम्राज्ञी राज्यलक्ष्मी शाह ,नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेकोछ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । यसमा कल्याणसंगै शम्भुजित बाँस्कोटाको पनि संगीत , बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहेको छ ।










