
फिल्म । वैशाख २१ देखि प्रदर्शन हुने फिल्म ‘मनसरा’ चर्चामा छ । गत वर्ष प्रदर्शन गरिएको फिल्म ‘जारी’ को सफलता पश्चात सोही टिमले निर्माण गरेको भएकाले पनि दर्शक प्रतिक्षित छन् । ‘कबड्डी’ शृंखलाका लेखक उपेन्द्र सुब्बा आफैमा प्रसिद्ध कवि हुन् । उनले फिल्ममा पटकथा मात्र लेखेनन्, छायांकनमा समय विताए । फिल्मको प्राविधिक ज्ञान बटुलेपछि उनले फिल्म निर्देशन गर्ने सोच बनाए ।
‘मैले जारीको कथा भन्नै पर्छ भनेर निर्देशन गरेको हुँ । किनकि अघिल्ला फिल्मबाट मैले प्राविधिक ज्ञान समेत लिएको थिएँ । तर, पहिलो फिल्मको कमि कमजोरीलाई मनसरामा सुधार्ने प्रयास गरेको छु’, निर्देशक सुब्बाले भने ।
उनले फिल्ममा एक आत्मनिर्भर महिलाको कथा भनेका छन् । मिश्रित समाजको कथालाई प्रस्तुत गरेका निर्देशक सुब्बाले फिल्मको शिर्षकमै कथासार व्यक्त गरेका छन् ।
फिल्मको नाम उनले यत्तिकै राखेका होइनन् । त्यसले फिल्मको कथासार व्यक्त गर्छ । निर्देशक सुब्बाका अनुसार मनसरा एक धानको प्रजाती हो । उक्त धानको विशेषता भनेकै एक्लै रोप्न नमिल्ने र अन्य जातसँग मिसाएर रोप्दा पनि फलदा स्वत्रण भएर फल्ने हो । यसलाई निर्देशक सुब्बाले विम्वको रुपमा प्रयोग गरेका छन् ।
‘मनसरालाई सहारा चाहिन्छ तर उ स्वतन्त्र छिन् । यही तथ्यलाई आधार मानेर फिल्मको तयार गरेको हो । यसले मिश्रित समाजको हाम्रै कथा भन्छ’, निर्देशक सुब्बाले भने ।
फिल्ममा मिरुना मगर, दयाहाङ राई, प्रविन खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय छ । निर्देशक उपेन्द्र सुब्बाकैलेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्रध्वज कार्की हुन् ।

विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउन्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर रसुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्मका मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई हुन् ।