‘रातो टीका निधारमा’ ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म । आउँदो दसैँलाई लक्षित गर्दै प्रदर्शनमा आउने फिल्म ‘रातो टीका निधारमा’ को ट्रेलर सार्वजनिक भएको छ । गत शुक्रबारबाट हलमा आएको ट्रेलर आजदेखि युट्युबमा आएको हो । असोज १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले वैदेशिक रोजगारीको कथा वाचन गर्ने ट्रेलरले प्रस्ट्याउँछ । फिल्मलाई अशोक शर्माले निर्देशन गरेका छन् ।

फिल्म साम्राज्ञी आरएल शाह र डेब्यु ब्वाई अंकित शर्माको वरपर घुमेको छ । साम्राज्ञीले यो फिल्ममा गाउँले युवती अर्थात शिक्षिकाको भूमिकामा छिन् । अंकित भने वैदेशिक रोजगारीमा पठाउने एजेन्टको भूमिकामा छन् । कमेडी फ्लेवरमा तयार पारिएको फिल्मको ट्रेलर इन्टरटेनिङ र इन्गेजिङ रहेको प्रतिक्रिया कमेन्टको रुपमा प्राप्त भईरहेको छ ।

साम्राज्ञी र अंकितसँगै फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । झण्डै २ दशक अगाडिको सुपरहिट फिल्म ‘अल्लारे’ मा समावेश चर्चित गीत ‘रातो टीका निधारमा’ लाई रि-एरेञ्ज गरेर राखिएको छ । केही दिनमा उक्त गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।

बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहेको फिल्मका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा. कृष्णहरि बराल र वि. मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृतिले उनलाई निर्देशनमा सहयोग गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्