फिल्म । प्रतिक्षित फिल्म ‘छ माया छपक्कै’ को पहिलो गीत सार्वजनिक भएको छ । यूट्युब मार्फत सार्वजनिक गरिएको ‘जुनको जुनेली’ बोलको लोक शैलीको गीतमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र सुपुष्पा भट्ट फिचर्ड छन् । गीतमा बसन्त थापा र मिना निरौलाको स्वर छ । राजेन्द्र थापाको शब्द रहेको गीतमा गायक बसन्तकै संगीत छ ।
गीत सार्वजनिकसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । फिल्म असोज २४ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुद्धि तामाङ र रजनी गुरुङको पनि अभिनय रहेको फिल्मका निर्देशक दीपेन्द्र लामा हुन् । निर्देशक लामाकै कथा रहेको फिल्ममा दीपकराज गिरीको पटकथा रहेको छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको यस फिल्ममा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् ।
हरि हुमागाईंको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मले ४० वर्ष उमेर अन्तरालको प्रेम कथा वाचन गर्ने बताइएको छ । आमा सुरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईबीच सहकार्य भएर निर्माण भएको यस फिल्मका निर्माता रोहित अधिकारी हुन् । पहिलो पटक दीपक-दीपाको समुहले बाहिरी ब्यानरसँग सहकार्य गरेर ‘छ माया छपक्कै’ बनाएको हो ।












