विदेश । इभेन्ट बेटर ग्यालेक्सीका संस्थापक धीरज तण्डुकार बेलायतमा सम्मानित भएका छन् । उनलाई बेलायतस्थित एपेक्स हेल्थ केयर सेन्टरले ‘बेस्ट प्रोफेसनली ड्रेस’ विधाको अवार्डबाट सम्मान गरेको हो । अन्तर्राष्ट्रिय स्तरमा अवार्ड प्राप्त गर्दा आफूलाई गर्व लागेको धीरजले बताए । उनले यो सम्मानलाई आफूले गरेको मेहनतको प्रतिफलका रूपमा लिएको बताए ।
सन् २००० मा मोडलिङ क्षेत्रमा प्रवेश गरेका धीरजले सन् २००१ मा ‘मिस्टर काठमाडौं’को उपाधि जितेका थिए। त्यसपछि उनी मोडलिङ तथा ग्ल्यामर क्षेत्रमा सक्रिय छन् । इभेन्ट बेटर ग्यालेक्सी स्थापना गरेर उनले झण्डै २४ वर्षदेखि विभिन्न प्रतियोगिता, फेसन शो तथा कार्यक्रम आयोजना गर्दै आएका छन्।
उनको संस्थाले ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस’, ‘नेसनल किड्स अफ द इयर’, ‘मिसेस क्विन नेपाल’, ‘मिस्टर एन्ड मिस टिन’, ‘मोडल हन्ट’, ‘फेसन एन्ड स्टाइल’लगायतका विभिन्न फेसन शो आयोजना गरिसकेको छ। त्यस्तै, फुटबल खेलाडीलाई समेटेर ‘ग्ल्यामर एन्ड स्पोट्र्स’ तथा ‘नाडा अटो शो’जस्ता कार्यक्रम पनि सञ्चालन गरिसकेको छ।
धीरजले केही फिल्ममा अभिनय गर्नुका साथै मोहन भुसाल, निर्णय श्रेष्ठलगायतका गायकका म्युजिक भिडियोमा समेत अभिनय गरेका छन्। एक वर्षयता परिवारसहित बेलायतमा बस्दै आएका धीरजले त्यहाँ पनि नेपाली कला, संस्कृति र फेसनसँग सम्बन्धित गतिविधिलाई निरन्तरता दिँदै आएका छन्।
‘बेलायत पुगेपछि नेपालप्रतिको माया झन् बढेको छ। यहाँ कामको व्यस्तता भए पनि समय निकालेर नेपाली कला, संस्कृति र फेसनसँग सम्बन्धित कार्यक्रमहरूमा निरन्तर सहभागी भइरहेको छु,’ उनले भने।
लन्डनमा आयोजित भिक्टोरिया महोत्सवअन्तर्गतको रोड शोमा आफू लगायत त्यहाँ रहेका नेपालीहरू नेपाली तथा नेवारी पहिरनमा सजिएर धिमे बाजासहित सहभागी भएको धीरजले बताए। उक्त प्रस्तुतिले सबैको प्रशंसा पाएको उनको भनाइ छ।
धीरजले लन्डनमा नेपाली संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले एउटा कम्पनी स्थापना गरेको पनि खुलाएका छन्। उक्त कम्पनीले पाचपुचः गुठीसँगको सहकार्यमा म्हपूजा, बिस्केट जात्रालगायतका विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। धीरज र उनको टिमले गुफा राख्ने संस्कारदेखि पास्नी, व्रतबन्ध, विवाह र मृत्युसम्मका नेपाली परम्परालाई एउटै फेसन शोमार्फत प्रस्तुत गरेका थिए।










