फिल्म । गत मङ्सिर ७ गतेदेखि प्रदर्शन भएको फिल्म ‘तेल भिसा’ प्रदर्शनको ५१ औँ दिन पुरा गर्न सफल भएको छ । काठमाडौँको क्युएफएक्स अन्तर्गत लविम मल, राइजिङ मल, सिटी स्क्वायर र भक्तपुर, एकक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, वान सिनेमाज र मोफसलमा डीम्याक्स सिनेमाज, फ्रेन्डस सिनेमाज, सिने रोयल र इलाइट सिनेमामा यो फिल्मले प्रदर्शनको ५१ औँ दिन पुरा गर्न सफल भएको हो ।
आफ्नो सन्तान भेट्न प्रवास पुग्ने अभिभावकको भोगाईमा निर्माण भएको फिल्म ‘तेल भिसा’ का निर्देशक शङ्कर घिमिरे हुन् । यस फिल्ममा ऋचा घिमिरे, विपिन कार्की, वर्षा राउत, पुजा चन्द, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतका कलाकारले अभिनय रहेको छ । फिल्मका वितरक करण श्रेष्ठले अहिलेको समयमा फिल्मले प्रदर्शनको ५१ औँ दिन पुरा गर्नु आफैँमा ठूलो सफलता भएको बताए ।
‘तेल भिसाले काठमाडौँसँगै मोफसलमा पनि सफलता पूर्वक प्रदर्शनको ५१ औँ दिनमा प्रवेश गरेको छ । यो सफलतालाई हामी दर्शकसँग साट्न आतुर छौँ । हाम्रो फिल्म हेर्न आउनुभएका दर्शकको सन्तुष्टी नै हाम्रो ठूलो सफलता हो’, वितरक श्रेष्ठले भने । यो वर्ष यसअगाडि ‘बोक्सीको घर’, ‘१२ गाउँ’, ‘पूर्णबहादुरको सारङ्गी’ ले प्रदर्शनको ५१ औँ दिन पुरा गरिसकेका छन् ।