फिल्म । मल्टीस्टारकास्टका कारण चर्चामा रहेको तथा दर्शकको प्रतीक्षामा रहेको फिल्म ‘पाँच पाण्डव’को डबिङ सुरु गरिएको छ । बिहीबार म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा फिल्मको डबिङ सुरु गरिएको हो । गौशाला पिङ्गलास्थानस्थित नेपाल संगीत विद्यालयमा रहेको स्टुडियोमा फिल्मका सम्पूर्ण कास्ट एन्ड क्रूको उपस्थितिमा डबिङ सुरु गरिएको थियो । तिहारमा प्रदर्शन गर्ने तयारीमा रहेको फिल्मको डबिङको सुरुवात मुख्य कलाकार हरिवंश आचार्यले गरेका हुन् ।
निर्माण पक्षले फिल्मको सम्पूर्ण साउन्डको काम डल्बी एट्मस प्रविधिमा गर्ने भएपछि ‘पाँच पाण्डव’ हेर्ने दर्शकले हलमा फुल डल्बी एट्मस साउन्डको अनुभव लिन पाउने भएका छन् । निर्देशक वसन्त निरौलाले पोस्ट प्रोडक्सनको काम सुरु भएसँगै डबिङ पनि थालिएको बताए । ‘हामीले कुनै पनि कुरामा कम्प्रमाइज गरेका छैनौँ । दर्शकलाई साउन्डको फरक टेस्टसहित प्राविधिक रूपमा पनि अब्बल फिल्म दिनेछौँ, जुन फिल्ममा देखिनुका साथै महसुस पनि हुनेछ,’ उनले भने ।
नेपाली संगीत क्षेत्रमा चार दशकदेखि सक्रिय म्युजिक नेपालले गत वर्षको माघदेखि करिब १० करोड रुपैयाँको लगानीमा नेपालमै पहिलोपटक डल्बी एट्मसबाट मान्यताप्राप्त पोस्ट प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको हो ।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको ‘पाँच पाण्डव’मा नेपाली फिल्म क्षेत्रका दिग्गज तथा नयाँ पुस्ताका चर्चित कलाकार एकसाथ देखिँदैछन् । हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला फिल्मका मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् ।
त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, मोडल इभा गिरी र सीता न्यौपानेलगायत कलाकारको पनि मुख्य भूमिका रहेको छ । फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए । फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन् ।
‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । पौडेलका अनुसार फिल्म ‘सोसल ड्रामा’ जनरामा आधारित छ । महाभारतका पाँच पाण्डवका चरित्र तथा विम्बलाई आधार बनाउँदै फिल्मले समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
झापा तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको छायांकन श्याम तामाङले गरेका हुन् । फिल्ममा सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग संयोजन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बीजीएम, पुकार धिमालको भीएफएक्स, रोहित राज गौतमको एचओपी तथा विष्णु बुढाथोकीको प्रोडक्सन म्यानेजमेन्ट रहेको छ ।
तिहारमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ । फिल्मको नाम, कथावस्तु तथा मल्टीस्टारकास्टका कारण ‘पाँच पाण्डव’लाई प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ ।












