‘विश्वलाई गोर्खालीको बहादुरीसँगै मानवताको कथा देखाउँदैछु’

फिल्म। नेपाली कथाहरुलाई विश्वबजारमा पुर्याउन सर्ट फिल्मको माध्यमले विभिन्न अन्तराष्ट्रिय अवार्डहरु जितिसकेका निर्देशक प्रदीप शाही फिचर फिल्म लिएर आउदैछन् । विश्वलाई गोर्खा सैनिकको बहादुरी र मानवताको कथा देखाउन फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ लिएर आउदैछन् । उनको डेब्यु निर्देशन रहेको फिल्म भदौ २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।पहिलो विश्वयुद्धमा मानवता देखाएर भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको कथामा निर्माण भएको फिल्मले गोर्खा सैनिकलाई संसारभर चिनाउने निर्देशक शाहीको विश्वास छ । फिल्मको प्रदर्शनका लागि बेलायतबाट नेपाल आएका उनले भने, ‘३६ घन्टाको पहिलो विश्वयुद्धमा कुलवीर थापाले कसरी भिक्टोरिया क्रस पाउनुभयो भन्ने कथामा फिल्म बनेको छ । फिल्मले हामी गोर्खाली के हौं भनेर संसारलाई चिनाउनेछ ।’

गोर्खालीलाई संसारले युद्द गर्ने सैनिकको रुपमा मात्र नचिनुन्, युद्दमा सहभागी भएतापनि गोर्खा सैनिकमा मानवता युद्दभाव भन्दा बढि मानवता छ भन्ने सन्देश फिल्मले दिने निर्देशक शाहीले बताए । उनी भन्छन्, ‘पहिलो विश्वयुद्धमा नेपाली गोर्खा सैनिकको के योगदान छ भन्ने कुरा कुलवीर थापाको माध्यमबाट भन्न खोजेका छौं । त्यसबेला गोर्खा सैनिकले कसरी मानवता देखाएका थिए भन्ने कुरा फिल्ममा छ । फिल्मले हामी नेपाली मानवतापूर्ण पनि छौं भनेर चिनाउनेछ ।’

‘गोर्खा: बिनिथ द ब्रेभरी’को नेपालअघि बेलायत र अमेरिकामा प्रदर्शन भइसकेको छ । त्यहाँ फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको र नेपालमा पनि दर्शकहरुले फिल्म रुचाउनेमा निर्देशक शाही ढुक्क छन् । ‘मैले फिल्मलाई रेगुलर नेपाली फिल्मभन्दा केही फरक बनाउने प्रयास गरेको छु,’ उनले भने, ‘हामीले यो फिल्म नेपाली समुदायले मात्र नभइ विदेशीले पनि बुझ्ने गरी बनाएका छौं । फिल्ममा गीतहरु समावेश छैनन् । एकदमै यथार्थपरक बनाएका छौं ।’

लामो समयदेखि बेलायतमा बस्दै आएका प्रदीप शाहीको ‘गोर्खा: बिनिथ द ब्रेभरी’ पहिलो निर्देशकीय फिचर फिल्म हो । यसअघि उनले ‘पासपोर्ट’, ‘वेटिङ, ‘सिम्बोल १’, ‘कन्फ्लिक्ट’लगायत थुप्रै सर्ट फिल्मको निर्देशन गरेर अन्तर्राष्ट्रिय अवार्डहरु जितिसकेका छन् । यूकेको केही टेलिभिजन ड्रामामा सहायक निर्देशक भएर काम गरेको अनुभव पनि उनीसँग छ ।

फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् ।

फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ । सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलीपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । फिल्म यहि कथाको वरपर बनेको छ ।

कमेन्ट गर्नुहोस्