फिल्म । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’ मा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई हरिवंश आचार्यकी श्रीमती रमिला पाठकको भूमिकाका लागि अनुबन्ध गरेको हो ।
फिल्ममा हरिवंश आचार्यको भूमिका अभिनेता अरुण क्षेत्रीले निर्वाह गर्नेछन् । अब वर्षाले अरुणको जोडीका रूपमा काम गर्नेछिन् । अरुण र वर्षाले पहिलोपटक सँगै काम गर्न लागेका हुन् ।
निर्देशक मिलन चाम्सले वर्षालाई अरुणको जोडीका रूपमा अनुबन्ध गरिएको जानकारी दिए । उनका अनुसार वर्षाले फिल्ममा हरिवंशकी श्रीमती रमिला पाठकको भूमिका निर्वाह गर्नेछिन् ।
यही टिमले निर्माण गर्ने हरिवंश आचार्यको बायोपिकमा पनि वर्षाले रमिलाकै भूमिका निर्वाह गर्ने जनाइएको छ । अरुण क्षेत्री उक्त बायोपिकमा हरिवंशको मुख्य भूमिकाका लागि यसअघि नै अनुबन्ध भइसकेका छन् ।
मदनकृष्ण श्रेष्ठको जीवनका सुख-दुःख, संघर्ष र विभिन्न आरोह-अवरोहलाई समेटेर निर्माण हुन लागेको ‘म मदनकृष्ण’को निर्देशन मिलन चाम्सले गर्नेछन्। चाम्सले यसअघि राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ निर्देशन गरेका थिए।
बायोपिकमा मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन्। मदनकृष्णकी श्रीमती यशोदाको भूमिकामा केकी अधिकारी देखिनेछिन्।फिल्ममा मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य तथा अन्तरजातीय विवाहलगायत जीवनका महत्वपूर्ण घटनालाई समेटिनेछ।
फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाललगायत कलाकारको पनि अभिनय रहनेछ। भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने बायोपिक **‘म मदनकृष्ण’**लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन्।










