फिल्म । हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ ले रिलिज तय गरेको छ । फिल्म आउँदो कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने तय गर्दै फस्टलुक अन्तर्गत दुई पोस्टर सार्वजनिक गरेको छ । दुई पोस्टरमै फिल्मको मुख्य कलाकार हरिवंश आचार्यलाई देखाइएको छ । उनी फिल्मका शिर्ष भूमिका निर्वाह गरेका कलाकार हुन् ।
एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला-बेहुली लुक्समा देखिएका छन् भने अर्कोमा हरिवंशले पिँजडाको सुगालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ । सार्वजनिक दुई पोस्टरले फिल्मको थिमलाई प्रस्ट्याउन् खोजेको छ । कलात्मकता झल्काउने एक पोस्टरमा हरिवंश पिँजडाको सुगालाई स्वतन्त्रता दिईरहेको देख्न सकिन्छ । समाजले महापुरूष बनाएर निश्चित परिधिमा कैद गर्ने भाव देख्न सकिन्छ । अर्को पोस्टर कमर्सियल छ । जहाँ हरिवंश बेहुली लिएर भागिरहेका छन् । अर्थात् सार्वजनिक दुई पोस्टरमा महापुरूषको दुई रुपलाई चित्रण गरिएको छ ।
सामाजिक विषयवस्तुमा आधारित ड्रामामा हरिवंश र गौरीसँगै मदनकृष्ण श्रेष्ठ , अरुण क्षेत्री, अन्जना बराइली,रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।
फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ। सोसल ड्रामा ‘महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थिति व्यंग गरिने छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन्।
फिल्मको विषयमा सार्वजनिक हुने टिजरले प्रस्ट्याउने निर्देशक भट्टराई बताउछन् । ‘हामीले दुई किसिमको पोस्टर सार्वजनिक गरेका छौँ । फिल्म के हो भन्ने विषयमा टिजर मार्फत जनाउने छौँ । पोस्टरमा पनि हामीले हिन्ट दिएका छौँ’ निर्देशक भट्टराईले भने । उनी यसपटक यसअघिका फिल्म भन्दा झनै कन्फीडेन्ट छन् । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । कलाकार समेत रहेका रबिन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् ।
‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ । आफ्नै मौलिक कथा र नाम महापुरूष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरु भन्दा यसपटक झनै माझिएका छौँ’ उनले भने । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहेको छ। फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा किशोर आचार्य , रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।











