रघुवीर कार्की । नेपाली कांग्रेसका संस्थापक नेतामध्येका रामहरि जोशीको आज दोस्रो स्मृति दिवस। बलेको आगो ताप्ने नेपाली समाजमा आदर्शको जिन्दगी बाँचेर चुपचाप बिदा भएका नेताको स्मृति दिवस उहाँले जन्माएको पार्टीकै पनि विस्मृतिमा परेकोे छ। उहाँले विवाह गर्नुभएन। अविवाहित रहेरै संसारबाट बिदा हुनुभयो। उहाँको कुनै पारिवारिक उत्तराधिकारी छैनन्। हुन त राजनीतिज्ञको पारिवारिकभन्दा पनि वैचारिक उत्तराधिकारी हुनुपर्ने हो। तर, विडम्बना जोशीले अंगीकार गरेको आदर्श राजनीति कांग्रेसभित्रै ‘डाइनोसर’ बनिसकेको वर्तमान सन्दर्भमा त्यहाँभित्रबाट उहाँको वैचारिक उत्तराधिकारी जन्मने कुरै भएन। त्यसैले पनि होला, उहाँको स्मृति दिवस विस्मृतिमा पर्छ। यद्यपि, नेपाली राजनीतिले समाजवादी नेता जोशीको जीवन र उहाँले आफ्नै जीवनकालमा गरेका कर्म सम्झने आम कार्यकर्ता र नागरिक पंक्ति भने अझै छन्।
‘मानिसलाई गहुँ पनि चाहिन्छ, गुलाब पनि चाहिन्छ, धान पनि चाहिन्छ धाननाच पनि चाहिन्छ। मकै पनि चाहिन्छ, मादल र मारुनी पनि चाहिन्छ। अनि मात्र समाजको सन्तुलित र सर्वांगीण विकास हुन सक्छ’, नेपाली समाजको बहुआयामिकतालाई बुझ्न उहाँको यति भनाइले पनि सहयोग गर्छ। उहाँले यी कुरा ‘आत्मकथा तथा नेपाली कांग्रेससँग गाँसिएका सम्झनाहरू’ नामक पुस्तकमा उधृत गर्नुभएको छ। १९८२ सालमा सर्लाहीको मलंगवामा जन्मनुभएका जोशीले आफ्नो सिंगो जीवन नै राजनीति र समाज सेवामा व्यतीत गर्नुभयो। सन् १९४७ मा उहाँले कलकत्ताको बंगवासी कलेजमा बीएस्सीको छात्र हुँदा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो। यसमा उहाँ छात्र प्रतिनिधिको हैसियतले सहभागी हुनुहुन्थ्यो।
जोशी कांग्रेसको मात्र होइन, नेपाली राजनीतिकै एक निष्ठा र आदर्शको प्रतिमूर्तिका रूपमा परिचित हुनुभयो। विद्यार्थी जीवनमा निकै अब्बल जोशी अध्ययनको सिलसिलामा कहिल्यै दोस्रो हुनुभएन। गाउँको सामान्य पढाइ सकेर भारतको सीतामढीमा माध्यमिक शिक्षा हुँदै काशी हिन्दु विश्वविद्यालयमा आईएस्सी र कलकत्ता विश्वविद्यालयमा बीएस्सीसम्मको अध्ययन पूरा गर्नुभएको थियो।
उहाँमा त्यही बेलाबाटै राजनीतिको रस पसिसकेको थियो। भारतीय स्वतन्त्रता आन्दोलनमा प्रत्यक्ष रूपमा सहभागी हुनुभएका उहाँमा गान्धीवादी विचारधारा पनि विस्तारै पस्दै थियो। बीपी कोइराला, गणेशमान सिंह, मातृकाप्रसाद कोइरालालगायत कांग्रेसका संस्थापक नेताहरूलाई उहाँले कांग्रेस पार्टीकै स्थापनाको सिलसिलामा भेट्नुभएको हो। नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसबीच एकतापश्चात् ‘नेपाली कांग्रेस’ को जन्म भयो। उक्त पार्टीको अध्यक्ष मातृकाप्रसाद कोइराला हुनुभयो। कोइरालाले महामन्त्रीमा जोशीलाई प्रस्ताव गर्नुभएको रहेछ। तर, उहाँले अझै आफू त्यो पद बहन गर्नलायक नभएको र स्नातक अध्ययन गर्दै गरेकाले अस्वीकार गर्नुभएको बारम्बार भन्ने गर्नुहुन्थ्यो। त्यसपछि महामन्त्रीमा महेन्द्रविक्रम शाह र कोषाध्यक्षमा सुवर्णशमशेर रहनुभयो।
कांग्रेस स्थापनापश्चात् सर्लाही घर आउनुभएका जोशीले किसानलाई एकीकृत गरेर तत्कालीन सरकारविरुद्ध पर्चा छरेर विद्रोहको सुरुवात गर्नुभयो। त्यही अभियोगमा आफ्नै पिता तीर्थलाल जोशीले उजुरी दिएपछि उहाँ गिरफ्तार हुनुभयो। ०७ सालको क्रान्तिपश्चात् नेपालमा प्रजातन्त्र स्थापना भएसँगै नेपालमा प्रजातन्त्र आएलगत्तै सर्लाहीको मलंगवामा उनकै पहलमा पब्लिक हाईस्कुल स्थापना गर्नुभयो। उक्त विद्यालयमा उहाँले प्रधानाध्यापकको रूपमा धेरै वर्ष अध्यापन गराउनुभयो। शिक्षाबाटै समाज र राजनीतिको मुहार फेर्न सकिन्छ भन्ने विश्वास जोशीमा थियो।
विशेषगरी दलित, गरिब र पिछडिएका वर्गप्रति उहाँ सधैं विभिन्न जागरणका कार्यक्रम लगेर उनीहरूलाई मूल प्रवाहमा ल्याउन लागिरहनुहुन्थ्यो। मधेसलाई माया गर्नुहुन्थ्यो। साँच्चै मनबाटै मधेसप्र्रति प्रेमभाव भएका नेताका रूपमा उहाँलाई लिइन्छ। मधेसी जनताको अधिकार तथा समावेशिताका पक्षमा सधैं जोडदार रूपमा आफूलाई उभ्याइरहनुभयो। उहाँ दूरगामी सोचको हुनुहुन्थ्यो। मधेस आन्दोलनपूर्व नै उहाँले मधेसमा ठूलो विद्रोह हुनेछ भन्नुहुन्थ्यो। मधेसी जनताप्रतिको विभेदतर्फ संकेत गर्दै भन्ने गर्नुहुन्थ्यो। मधेसमा कालो बादल मडारिरहेको छ। कुन बेला असिना पर्छ कसैलाई थाहा छैन। त्यसैले चाँडोभन्दा चाँडो मधेसप्रति देशको चासो बढोस् र समावेशी रूपमा मधेसीलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ भनिरहनुहुन्थ्यो।
राजनीतिमा लागेर लिने होइन, समाज र राष्ट्रलाई दिनुपर्छ भन्ने विचार बोकेर अहोरात्र लागिरहने जोशीबाट समकालीन राजनीति गर्नेहरूले सिक्न जरुरी छ । तर, विडम्बना मधेस आन्दोलनमा तिनै मधेसप्रति सधैं प्रेम गर्ने उनै नेताको मलंगवामा रहेको घरमा आगो लगाइयो। त्यस बेला पनि उनको मधेस प्रेम घटेन। बरु मधेस आन्दोलनका घाइतेहरू भेट्न कहिले टिचिङ अस्पताल त कहिले वीर अस्पताल पुग्ने गर्नुहुन्थ्यो।

सर्लाहीबाट दुईपटक प्रतिनिधिसभाको निर्वाचनमा विजयी हुनुभयो। जोशी गिरिजाबाबुको प्रथम मन्त्रिमण्डलमा शिक्षा तथा पर्यटनमन्त्रीसमेत बन्नुभयो। एक प्रसंगमा उहाँ आफूलाई मन्त्री नभन्नु भन्नुहुन्थ्यो। मन्त्री हिजोआज जस्तो चरित्रका पनि बन्ने भए। त्यसैले मन्त्रीको इज्जत रहेन। बरु त्योभन्दा एक साधारण नाम नै ठीक छ भन्ने गर्नुहुन्थ्यो । राजनीति गर्ने मानिसको चरित्र सधैं स्वच्छ रहनुपर्छ भन्नेमा उहाँ सधैं दृढ हुनुहुन्थ्यो। सादा जीवन र स्वच्छ आचरण रहनुपर्छ भन्नेमा उहाँ जीवनभर टिकिरहनुभयो। विचलित हुनुभएन। भ्रष्टाचार र लोभले मुलुक बिग्रिएको हो। जोशीले आफ्नो राजनीतिक जीवनमा कुनै लोभ गर्नुभएन। एकपटक जापान सरकारले उहाँलाई चढ्न गाडी उपहार स्वरूप दिएको रहेछ। तर, उहाँले त्यसलाई फिर्ता गरिदिनुभएको थियो।
बीपी कोइरालाले भन्नुभएको प्रजातन्त्र आएपछि सुकिला–मुकिलाहरू हाबी हुनेछन् र इमानदार कार्यकर्ता ओझेल पर्नेछन्। त्यतिबेला पार्टीमा रहेका इमानदार नेता–कार्यकर्ताले विद्रोहको झण्डा उठाउनुपर्छ भन्ने भनाइ सधैं कार्यकर्तालाई दोहो¥याइरहनु हुन्थ्यो। गिरिजाबाबुकै विरुद्धमा पनि उहाँ दुईपटक सभापति लड्नुभयो। उहाँलाई थाहा थियो निर्वाचन हार्छु भन्ने। उहाँ गिरिजाप्रसादविरुद्धको उम्मेदवारी उनको कार्यशैलीप्रतिको आफ्नो विरोध भएको बताउनुहुन्थ्यो। ‘कसैले खबरदारी गरेन भने र प्रतिस्पर्धा गरेन भने त्यो निरंकुश बन्छ। त्यसैले मैले पार्टीकै हितमा गिरिजाबाबुसँग सभापतिमा लडेको हुँ भन्नुहुन्थ्यो उहाँ।
राजनीतिक मात्र नभएर उहाँको साहित्यिक व्यक्तित्व पनि थियो। हिन्दी तथा अंग्रेजी भाषामा समेत सिद्धहस्त जोशीले नेपालको नोभेम्बर क्रान्ति, रामवृक्ष बेनीपुरीको नेत्रदान नाटक नेपाली अनुवाद, लक्ष्मीप्रसाद देवकोटाको ‘बाप’ु कविताको हिन्दी अनुवाद, आत्मकथा तथा नेपाली कांग्रेससँग गाँसिएका सम्झना, नेपालका अमर शहिद, अँध्यारोबाट उज्यालोतिर, प्रतीकात्मक प्रश्नलगायत करिब एक दर्जनजति पुस्तक लेखन तथा सम्पादन गर्नुभएको छ। उहाँले लेख्नुभएको नेपालको अमर सहिद हाईस्कुलमा पढाइन्थ्यो। तर, पञ्चायती व्यवस्था आएपछि त्यसमाथि प्रतिबन्ध लगाइयो। भारतमा रहँदा महाकवि लक्ष्मीप्रसाद देवकोटा र जोशी एउटै कोठामा महिनौंसम्म बस्नुभयो।
जीवनको उत्तरार्धमा पनि जोशीलाई जोकोही भेट्न जाँदा उहाँ सधैं लेखपढ गरिरहेको देखिन्थ्यो। केही नयाँ कुरा अध्ययन गर्ने, खोज्ने तथा त्यसको विश्लेषण गर्ने बानी थियो उहाँमा। कांग्रेसको पछिल्लो घटनाक्रम तथा गतिविधिबाट उहाँ सन्तुष्ट हुनुहुन्नथ्यो। कांग्रेसको नेतृत्वप्रति उहाँ सधैं प्रश्न गरिरहनुहुन्थ्यो। बीपी कोइरालाका सहयोद्धाका रूपमा काममा काम गर्नुभएका जोशी वर्तमान कांग्रेसका नेताहरूबाट कुनै आशा नभएको टिप्पणी गरिरहनुहुन्थ्यो। तर, उहाँ युवाप्रति भने असाध्यै भरोसा गर्नुहुन्थ्यो। नयाँ पुस्ताले मात्र सशक्त कांग्रेस बनाउन सक्छ भन्ने विश्वास उहाँमा थियो।
राजनीतिमा लागेर लिने होइन, समाज र राष्ट्रलाई दिनुपर्छ भन्ने विचार बोकेर अहोरात्र लागिरहने जोशीबाट समकालीन राजनीति गर्नेहरूले सिक्न जरुरी छ। ठूलो जमिनदारको परिवारमा जन्मिए पनि सधैं गरिबका पक्षमा वकालत गरिरहने जोशीले सम्पूर्ण जीवन नै राष्ट्रसेवामा समर्पित गर्नुभयो।
राजनीति गर्ने पछिल्लो पुस्ताले रामहरि जोशीको त्यो आदर्श र बलिदानबाट धेरै कुरा सिक्न जरुरी छ। नब्बेको दशकमा पुगिसक्दा पनि आफूलाई सधैं युवा जोस र जाँगरका साथ प्रस्तुत गरिरहनुभयो। जोशीको त्यो जाँगर अद्भुत नै मान्नुपर्छ। कुर्ता–सुरुवाल खादीको सानो स्टकोट, सेतै फुलेका कपाल, हँसिलो चेहेरा अनि स्वच्छ छविका गान्धीवादी राजनीतिज्ञ स्वर्गीय रामहरि जोशीप्रति हार्दिक श्रद्धासुमन !
(साभार – अन्नपूर्ण पोष्ट दैनिक)











