‘म चाहिँ चुसेको आँप’

फिल्म । आयुष्मान डिएस जोशीलाई नरुचाउने फ्यानले ‘चुसेको आँप’ भनाइ ट्रोल गर्ने गर्छन । तर , उनको रिलिजको क्रममा रहेको फिल्म ‘सानो मन’ कै ट्रेलरमा अन्तिम संवाद छ । ‘जा गएर ऐना अनुहार हेर , चुसेको आँप जस्तो देखिएको छ’ यो संवाद आएपछि हासो गुञ्जने गर्छ । यस्तै भयो पछिल्लो समय फिल्म युनिटले आयोजना गरेको एक प्रमोसनल इभेन्टमा ।

गत शुक्रबार दिउँसो निर्माण टीमले राजधानीको सिभिल मलमा प्रमोसनल कन्सर्टको आयोजना गरेको थियो । जहाँ फिल्मका प्रमुख कलाकारहरु आयुष्मान डिएस जोशी , शिल्पा मास्के, सक्षम सुवेदी, निर्देशक सुयोग गुरुङलगायत उपस्थिति भएका थिए । भने, फिल्मकोे शिर्ष गीतमा आवाज भरेका गायक रोहित जोन क्षेत्रीको पनि उपस्थिति रहेको थियो । फिल्मको जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा आयुष्मानलाई भेट्न चाहने युवती फ्यानहरु धेरै देखिएका थिए । उनले पनि आफ्ना क्रेजी फ्यानसँँग सेल्फी खिच्दै फिल्मको गीत ‘रानु कम्मर’ मा नृत्य गरे ।

आयुष्मानलाई शिल्पा र सक्षमले पनि साथ दिए । फिल्मको बारेमा सोधिएको केही प्रश्नको सही उत्तर दिनेलाई कलाकारहरुले ‘सानो मन’ को टिकट समेत प्रदान गरेका थिए । मलमा विभिन्न उद्देश्यले पुगेका दर्शकहरु आयुष्मान र शिल्पालाई आफ्नो मोवाइलमा कैद गर्न व्यस्त देखिन्थे । दुईसँग सेल्फी खिच्नेहरुको भीड पनि ठूलै लागेको थियो । तर , जब सबैले आ-आफ्नो परिचय दिए त्यसक्रममा आयुष्मानले भने ‘म चाहिँ चुसेको आँप’ । उनको यो परिचयले दर्शकमा हाँसोको फोहोरा छुटेको थियो । उनले केहि समय अगाडी पनि कुराकानीको क्रममा प्रतिप्रश्न गरेका थिए , ‘के म चुसेको आँप जस्तो देखिन्छु र ?’ तर यतिबेला फिल्मको संवादले चर्चा बढाएपछि उनले खुलेरै बोले ।

फिल्मले दर्शकलाई निराश नबनाउने दाबि गर्ने आयुष्मानले यसको कथामा युवाले बढी रिलेट गर्ने बताए । फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर फिल्मको सम्पादन गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको ‘सानो मन’ लाई आलोक शुक्लले छायांकन गरेका छन् । यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।

कमेन्ट गर्नुहोस्