फिल्म । वरिष्ठ अभिनेत्री भुवन चन्द थापाद्वारा निर्मित फिल्म ‘साइनो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘कुन मायाको साइनो’ बोलको लिरिकल गीतमा नीता ढुंगाना, मीरुना मगर र राज कुमारबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ । एलिश कार्कीद्वारा संगीतवद्द गीतमा प्रताप दास र जीना रसाइलीको स्वर छ । भने, रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । गीतमा राजेशकुमार श्रेष्ठको शब्द सृजना छ ।
साथै, यसै गीतको लागि ‘टिक-टक च्यालेन्ज’ पनि बाहिर ल्याएको छ । गीतको कुनै पनि अंशमा इच्छुकले टिक-टकबाट भिडियो बनाउन सक्नेछन् । यसरी बनाइएको टिक-टक भिडियोलाई फिल्म ‘साइनो’को अफिसियल फेसबुक पेजमा सेन्ड गरेर च्यालेन्जमा सहभागिता जनाउन सकिनेछ । च्यालेन्जमा उत्कृष्ट हुने भिडियोलाई निर्माण टिमले आकर्षक पुरस्कार पनि तय गरेको छ ।
जस अनुरुप प्रथम हुने भिडियोलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारको दरले पुरस्कार छुट्टयाइएको छ । त्यस्तै पाँच जनालाई गिफ्ट ह्याम्पर र दुई जना भाग्यशालीलाई आस्था कला केन्द्रमा १ वर्षको लागि निशुल्क प्रशिक्षणको व्यवस्ता गरिनेछ । विजेताहरु घोषणा फिल्म रिलिज अगावै हुनेछ ।
रमेश थापा निर्देशित साउन २४ गते रिलिज हुने फिल्ममा नीता, मिरुना र राजसँगै भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ । अभिमन्यु निरवी लिखित फिल्मको कार्यकारी निर्माता शरण थापा हुन् । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको फिल्ममा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।












