फिल्म । ‘अन्दाज’ बाट नायकको रुपमा डेब्यु गरेका सविन श्रेष्ठको चर्चा राम्रै भयो । रेखा थापाको हिरो भएकै कारण उक्त समयमा सविनले प्रसंसा मात्र होइन , राम्रो चर्चा पाए । मिलेको जिउडाल र हिरोको व्यक्तित्व भएकै कारण सविन नोटिस मात्र भएनन् , फिल्ममा उत्तिकै बिजी पनि भए । तर , उनको चर्चा र स्टारडमले निरन्तरता पाउँन सकेन ।
बदलिदो मेकिङ शैलीसँगै उनि सिंगल स्क्रीनका हिरो भए । अर्थात उनले आफ्नो साख जोगाइराख्न सकेनन् । यिनै सविन पछिल्लो समय फिल्म ‘काउसो’ लिएर दर्शकसामु आउंदैछन् । मदन घिमिरेको लेखन तथा निर्देशन रहेको फिल्ममा उनले झन्डै तिन वर्ष अगाडी नै काम गरेका थिए तर रिलिजको ढिलाईले गर्दा आउँदो जेठ १७ मा प्रदर्शन हुदैछ ।
गाउँबाट ठूलो सपना बोकेर राजधानी छिरेका युवाहरुको संघर्षको कथामा फिल्ममा सविनको सेन्ट्रल क्यारेक्टर छ । ‘फिल्म नचल्दा एउटा कलाकारलाई पक्कै असर गर्छ र मलाइ पनि गरेको छ’ सविन भन्छन् ‘मेरो त झनै पुराना फिल्म आइरहेका छन् , जसबाट आशावादी हुने ठाउ पनि निकै कम छ ।’ उनले पुराना फिल्ममा मेकिङ शैली र कथावस्तु पनि त्यहि अनुरुप रहेको बताए ।
‘स्क्रिप्ट सुन्दा राम्रो हुन्छ , काम गर्न तयार भइन्छ तर बन्दै जादा अर्कै बन्छ’ उनले नेपाली फिल्मको विडम्बना बताए । साथै उनले फिल्म छनोटमा आफुले सहि डिसिजन लिन नसकेको पनि स्वीकारे । उनि आफै निर्माता समेत रहेको फिल्म ‘हिरो रिटन्स’ अझै रिलिज हुन् सकेको छैन । ‘फिल्म बनाउन सजिलो रहेछ तर चलाउन निकै गाह्रो छ’ उनले फिल्म रिलिज गर्न नसकेको स्वीकारे ।