हङकङमा ‘च च हुई’

फिल्म । डेब्यु फिल्म ‘लेटर’ मार्फत नै दर्शक माँझ नोटिस भएका निर्देशक साम्तेन भुटियाको निर्देशनमा तयार भइरहेको पछिल्लो फिल्म ‘च च हुई’ को छायाँकन गत साता देखि हङकङमा भईरहेको छ । एक साताको सेड्युल लिएर गत शुक्रबार त्यसतर्फ टोलि प्रस्थान गरेको थियो । तान्द्रो ,अनागत , सुस्केरा र साढे सात निर्देशन गरिसकेका साम्तेन यसपटक कमर्सियल फिल्म निर्देशन गरिरहेका छन् । हरेक फिल्ममा कथावस्तु फरक भएता पनि उनले उस्तै प्रकृतिको फिल्म निर्देशन गरिरहेको आरोप उनलाई यदाकदा लाग्ने गरेको थियो , त्यसैले पनि उनले यसपटक भिन्न किसिमकै फिल्म निर्देशन गरिरहेका छन् ।

नर्थ पोइन्ट , जोर्डन , गार्डेन हिल लगायतका रमणीय स्थानमा फिल्मको छायाँकन भइरहेको छ । फिल्मको छायाँकनको लागि अभिनेता आर्यन सिग्देल , माओत्से गुरुङ र भोला राज सापकोटासँगै छायाँकार सुशन प्रजापति , निर्देशक साम्तेन भुटिया , निर्माता अमृत घोले लामा लगायत हङकङमा छन् । त्यहाँ आर्यन र भोलाको विभिन्न दृश्यको छायाँकन भइरहेको छ । पुस्कर गुरुङ , मिरुना मगर , बबिता मल्ल लगायतको अभिनय रहेको फिल्मको हिमाली भेगमा शुटिङ सकिएपछी यतिबेला टिम हङकङ पुगेको हो ।

त्यसपछि नेपाल आएर फिल्मको गीतको छायाँकन गर्ने निर्माता अमृत घोले लामाले बताए । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यो कमेडी जनरको फिल्म हो भने यसलाई सिजन दाहाल र संदेश अर्यालले लेखेका हुन् । ‘यसपटक कमर्सियल फिल्मको जमर्को गरेको छु’ साम्तेन भन्छन् ‘फिल्म मार्फत दर्शकलाई भरपुर मनोरंजन दिलाउने प्रयास रहनेछ ।’ यसैगरी निर्माता अमृत पनि पहिलो काममै राम्रो टिम पाएकोमा दंग छन् । ‘मैले पहिलो फिल्ममै राम्रो टिम पाए , त्यसैले खुसि छु’ उनले भने । फिल्ममा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ । रोशनको संगीत रहेका गीतहरुमा लुटको उध्रेको चोली र जात्राको नोट नोटले चर्चा पाएका थिए ।

कमेन्ट गर्नुहोस्