फिल्म । गत शुक्रबार देखि फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ प्रदर्शन भईरहेको छ । प्रदर्शनको पहिलो साता पुग्नै लाग्दा यसले अढाई करोडको हाराहारीमा ग्रस कलेक्सन गरिसकेको छ । फिल्ममा डेब्यु फिल्म ‘ए मेरो हजुर २’ बाट नै रुचाइएका स्टाइलिस अभिनेता सलिनमान बनियाको अभिनय रहेको छ । सलिनले पहिलो फिल्म मार्फत क्युट रहेको मात्र प्रतिक्रिया बटुलेका थिए तर दोस्रो फिल्मसम्म आइपुग्दा उनको अभिनयमा निखारता मात्र आएको छैन , उनको एक्सन र नृत्यको पनि प्रसंसा भइरहेको छ । उनले फिल्म यात्रामा गरेको नृत्य र एक्सनलाई समेत दर्शकले रुचाएका छन् । फिल्म मार्फत सलिनले एक्सन हिरोमा आफुलाई प्रस्तुत गर्न सक्ने सम्भावना देखाएका मात्र छैनन् , उनले प्रमाणित नै गरेका छन् । हलमा फिल्म हेर्न पुगेका अधिकांसले सलिनको अभिनय निखारिएको प्रतिक्रिया सहित एक्सनको तारिफ गरेका छन् । मंगलवार दिउँसो चिनियाँ कलाकार जुन झाङसंग फिल्म हेरेर निस्किएका सलिन दर्शकबाट पाएको प्रतिक्रियाले मख्ख देखिन्थे । सलिनको प्रसंग उठेपछि जुनले पनि एक्सनको तारिफ गरे । ‘सलिन निकै मेहनती कलकार हुन् , उनले आफुलाई प्रमाणित गर्न निकै मेहनत गरेका छन्’ जुनले भने ‘सलिनको एक्सनले मलाइ समेत चकित बनायो , निकै मेहनत गरेका छन् उनले ।’
चीनमा फाइट डिरेक्टरको रुपमा समेत साना फिल्ममा काम गरेका जुनले सलिनले अवसर पाएमा निकै राम्रो एक्सन गर्ने संकेत गरे । उनले सलिनलाई चिनियाँ फिल्ममा ट्राइ गर्न समेत आग्रह गरे । यता सलिनले फिल्मको फाइटको दृश्य घाइते समेत भएको सम्झिए । ‘केहि दृश्यमा म घाइते भएको थिए , विशेष गरि खुट्टा र हातमा चोट लागेको थियो’ सलिन भन्छन् ‘फिल्मको डिमाण्ड अनुसार काम गर्न तयार छु ।’फिल्म हेर्न पुगेका निर्देशक, कलाकार तथा द्वन्द्व निर्देशक हिमाल केसीले सलिनको कामको प्रशंसा गरे । यस फिल्ममा उनको द्वन्द्व निर्देशन छ भने सलिनलाई २ महिना एक्सन तालिम समेत दिएका थिए । फिल्ममा सलिनले भ्लग मार्फत समाजमा ल्याउन सकिने परिवर्तनलाई चित्रण गरेका छन् । फिल्ममा सलिनसंगै सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसै फिल्म मार्फत मलिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।
फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ ।












